Thursday, December 12, 2019

बोइतप ङ्ह्य (मङ्सीर पूर्णे)



१.  पृष्ठभूमि
तामाङ क्यालेण्डरमा 'बोइतप ङ्ह्य'को आफ्नै महत्त्व रहेको छ । यसैलाई विक्रम सम्वत् चलाउनेले 'मङ्सीरे पूर्णे' भन्छन् । यही दिनदेखि 'उधौली पर्व' शुरू हुन्छ । यसैलाई 'धान्यपूर्णिमा' 'योमरीपुन्हि' भनेर चिन्नेहरू पनि छन् । यो दिन विभिन्न देवस्थलमा मेला (जात्रा)समेत लाग्छन् । 'उधौली'को रूपमा मान्ने संस्कृति अनुसार जाडोका कारण हिमालबाट ऊँधो गढतीरतिर झर्ने समय हो । यसै अवसरलाई पर्वको रूपमा धुमधामका साथ मनाउँछन् । 'योमरीपुन्हि' भन्नेले योमरी नामक विशेष खाद्य परिकार चलाउँछन् । यतिखेर धान बाली भित्र्याएकाले धनधान्यको मौसम मान्दछन् । त्यही भएर 'धान्यपूर्णिमा'को रूपमा पनि मान्नेहरू छन् ।

२.  हिउँद, जात्रा र उठाई विवाह
यतिखेर तामाङ ज्ञान तथा विश्वदृष्टिकोणलाई बुझ्न आवश्यक छ । यो हिउँदको याम हो । जात्रामात्रा वा मेला आदिको मौसम हो । गीत गाउन माहिर तामाङ लोकगायक/गायिकाहरू जात्रा भर्न पुग्छन् । गीत गाउँछन् । त्यस्तै मन मिल्नेहरू भेटिएमा पिरती गाँस्छन् । कतिले भगाउँछन् । कति भाग्छन् । उहिले त मन परेकीलाई उठाएर लैजाने प्रचलन पनि थियो रे भन्छन् ।
मन मिलेर भाग्ने वा भगाउनेका बीचमा खासै समस्या हुँदैनथ्यो रे । जबरजस्ती उठाएर लगेका रहेछन् भने चाहिँ उठाएर लानेले केटीको मञ्जुरी बिना श्रीमतीको रूपमा व्यवहार गर्न पाउँदैन थियो रे । त्यसैले उठाएर लाँदा बीचैमा माइती पक्षले खोसेर फिर्ता लान सक्थे । माइतीले खोसेर फिर्ता लान नसकेमा वा नलगे पनि केटीले स्वीकार नगरुञ्जेल केटाले आफ्नो घरमा वा सुरक्षित स्थानमा स-सम्मान राख्थ्यो रे । पकाउने र राजी गराउने गर्थे रे । यदि केही गरेपनि केटीले नमानेमा स-सम्मान माइती कहाँ पुर्‍याएर जिम्मा लगाउँथे रे । केटीले स्वीकार गरेमा मात्रै माइतीमा सगुन पुर्‍याउँथे रे ।
कतिपय बुढापाकाहरू सुनाउँछन्, उहिले केटी उठाउने भएमा केटाले आफ्ना साथीहरू जम्मा गर्थे रे । केटाले जुरुक्क उठाएर कुदाउँथ्यो रे । त्यसपछि सबैले पालैपालो काँध हालेर बोकेर लान्थे रे । त्यसरी उठाएर कुदाउँदै गर्दा बोक्नेको टाउकोको कपाल भुत्ल्याउँथिन् रे । जता जसलाई पायो टोक्थी रे । कपडा च्यातेर बेहाल बनाइदिन्थी रे । काँधमाथिबाटै पिसाब छोड्थिन् रे । थूSSS थूSSS गर्दै थुक्थिन् रे । तैपनि बडो सम्मान तथा जतनका साथ बोकेरै कुदाउँथे रे । केटीले स्वीकार्नुअघिसम्म चेली जत्तिकै मान्थे रे । अब त्यस्तो चलन छैन ।

३.  'ङ्ह्य' (पूर्णे) र सम्बन्धित पर्वहरू
तामाङ क्यालेण्डरअनुसारका प्रमुख तीन ङ्ह्य (पूर्णे)को विशेष महत्त्व रहेका हुन्छन् । तिनमा दुगु, गोने र बोइतप पर्दछन् । यी 'ङ्ह्य'हरू प्रत्येक चौथो महिनामा पर्दछन् । यसप्रकार वर्षभरिमा जम्मा तीनवटा पर्न आउँछन् । यतिखेरको 'बोइतप ङ्ह्य' चाहिँ कृषि तथा पशुपालनसँग सम्बन्धित एक चाड हो । यतिखेर धान भित्र्याएका वा भित्र्याउँदै हुन्छन् । तामाङ मान्यता अनुसार कुनै पनि बालीको बीउमा सह हुनुपर्छ । सह स्थापित गरेर बीउ छर्नुपर्ने हुन्छ । त्यसो गर्नाले फसल राम्रो हुन्छ । त्यसको सेवनले राम्रो गर्छ । त्यसैले 'नम्दुङ' महिनामा 'सेरकेम' गर्छन् । सेरकेम 'नम्दुङ' अर्थात् विक्रम सम्वत् अनुसारको चैते दशैँको दिन हुन्छ । त्यसपछि'दुगु ङ्ह्य' (वैशाख/बुद्धपूर्णिमा)को 'ह्युल्जे' गर्दछन् । 'ह्युल्जे'लाई नै कतिपयले 'भूमेपूजा' पनि भन्ने गरेका पाइन्छन् ।

४.  नयाँ अन्न चढाउनुको रहस्य
उल्लेखित दुर्इ पर्व (बोइतप र दुगु ङ्ह्य)का अवसर पारेर बीउमा सह स्थापित गराउँछन् । स्थानीय शक्तिहरू र 'फो ल' समेतलाई आह्वान गर्छन् । त्यसैले ती अन्न उत्पादन भएपछि सबैभन्दा पहिले तिनै शक्तिहरूलाई चढाउनुपर्ने हुन्छ । नचढाई खाएमा देउता रिसाउँछन् र कान काट्छन् । बालीका रोगव्याधी तथा जीवजन्तुका प्रकोप बढ्छन् । यसको लाक्षणिक अर्थ चाहिँ अन्न उत्पादनको क्रममा अनेकन कीटपतङ्गको हत्या भएका हुन्छन् । ती मारिएका प्राणीका चित्तले ती अन्नका दानालाई पिरेर बसेका हुन्छन् । उत्पादिन नयाँ अन्न देउतालाई चढाएपछि मारिएका प्राणीका चित्तले मोक्ष प्राप्त गर्छन् । अन्न शुद्ध हुन्छन् र सेवनयोग्ग बन्छन् ।
त्यही भएर गोने ङ्ह्य (जनैपूर्णिमा)को दिन पहिलो नयाँ मक्र (नवङ्गी स्वरूप) चढाउँछन् । सबैभन्दा ठूलो बाली भएकोले गोने ङ्ह्यपछि ह्वरीस्हुङ भन्दै बारीका देउतालाई फेरिपनि मकै चढाउँछन् । म्हेनङ/म्हेनिङमा खेप्पास्हुङको अवसरमा पनि नयाँ मकैका दाना 'स्हिने' भनेर चढाउँछन् ।
मकैपछिको दोस्रो ठूलो बाली कोदो र धान हो । धान चढाउने चाहिँ 'बोइतप ङ्ह्य' (मङ्सीर पूर्णे)को अवसरमा हो । यतिबेला गोठका देवीदेउताका पूजा गर्दछन् । नयाँ धानको चामल बनाउँछन् । खीर पकाएर चढाएपछि नयाँ धानलाई सेवनयोग्य ठान्छन् तर यसको कल्चरल जिनोलोजिकल पक्ष मात्रै बाँकी रहेको छ । बाँकी संस्कृति प्रायः लोप भइसकेको देखिन्छ । वास्तवमा यो 'ङ्ह्य' चाहिँ नयाँ धान बाली भित्र्याएपछि स्थानीय शक्तिहरूलाई मकै चढाए जसरी चढाउने अवसर वा पर्व हो । त्यस्तैगरी पशुपालनसँग सम्बन्धित पर्व पनि हो ।

५.  बोइतप ङ्ह्य र पशुपालनको सम्बन्ध
यतिखेर गोठको पूजा गर्नुको पनि केही न केही कारण हुनुपर्दछ । खासमा कात्तिकमा बस्तुभाउलाई एकठाउँबाट अर्को ठाउँमा सार्न उचित मान्छन् । किनकी त्यतिखेर सार्दा पानी लाग्दैन । मङ्सीरबाट जाडोको शुरूवात हुन्छ । बस्तुभाउको लागि यो त्यति उचित समय होइन । बस्तुका लागि सबैभन्दा धेरै त घाँसकै कुरा आउँछ । घाँसको कमि हुनाले यसपछि बस्तुभाउ पालनमा समस्या आउने गर्दछ । जाडो साथै घाँसको अभावमा बस्तुहरू दुब्लाउने, दूध कम हुने वा नआउने पनि हुन सक्छन् । यस्तो अवस्थामा पशुधनको सुरक्षा निकै चुनौतीपूर्ण हुने नै भयो । त्यही भएर पशुधनको सुरक्षाको लागि सम्बन्धित देवी देउताको पूजा गर्दछन् ।
विशेषतः पहाडी भेगमा यही मौसम पारेर बस्तुभाउहरू 'खरक'मा राख्छन् । 'खरकप्रथा' अहिले अति न्यून भइसकेको छ । पहिले यो निकै प्रचलनमा थियो । यतिखेर प्रायः खेतबारी खाली (बाँझो) हुन्थे । त्यस्ता खेतबारीमा बस्तुभाउ लगेर बाँध्थे । कतिपयले शिछारी (सेउला आदिका शीत छल्न बनाएका छहारी) बनाएर राती पनि बारीमा नै राख्थे । त्यसरी राख्नुलाई नै 'खरक' भन्ने गर्दछन् । त्यसैलाई खेतबारी मल्याउने (मल लगाउने) पनि भन्दछन् । यतिखेर प्रायः मान्छे खेतबारीमा नै हुन्छन् ।

६.  'सिँबी क्लङ्बा (सिँबी खेल)
उहिले केटाकेटीहरू शिछारीमा बसेका बेला 'सिँबी' खेल्थे । यो एक प्रकारको खेल हो । विशेषतः युवा युवतीहरू आ-आफ्ना झुण्ड बनाएर खेल्थे । शुरूमा एकजनालाई 'सिँबी' (छुचुन्द्रो) बनाउँछन् । अन्य साथीहरू लुक्न जान्छन् । सिँबी बन्नेले 'भयो कि भएन' भनेर कराउँछन् । लुक्न गएकाले 'भयो' भनेपछि खोज्न लाग्छ । सिँबी बन्नेले हातमा मकैको ढोँड लिएको हुन्छ । लुकेर बसेकालाई भेटाएपछि मकैको ढोँडले हान्न थाल्छ । 'भयो' नभनेसम्म हानेको हान्न छोड्दैन । 'भयो' भनेपछि चाहिँ हान्दैन । त्यसपछि 'भयो' भन्ने पनि सिँबीमा परिणत हुन्छ । अन्ततः सबैजना सिँबी भएपछि खेल सकिन्छ ।
उहिले रातभरि जस्तै यस्तो खेल खेल्थे रे । खेल्ने बेला कोही रूखमा, कोही कान्लामुनि, माथि त कोही झ्यास आदिका थुप्रोमा लुक्थे रे । लुकेका साथी देखियोस् भनेर झ्यासमा आगो पनि लगाउँथे रे । त्यतिखेर भने झ्यासमा लुकेर बसेका केटाको लगौटीमा आगो पनि लाग्न सक्थ्यो रे । लगौटीमै आगो लागेपछि निस्केर भाग्थ्यो रे । त्यही दृश्य हेरेर खूब रमाइलो गर्थे रे । अहिलेका नयाँपुस्ताले यो खेलको नाम नै सुन्न पाइरहेका छैनन् ।

७. जाडो छल्ने मौलिक तरीका
जाडो यामभरि यो खेल चल्थ्यो रे । ओढ्न ओछ्याउन लुगा हुँदैनथ्यो रे । त्यतिखेर भाङ्ग्राको बोरा पाउनु पनि भाग्यको कुरा हुने । त्यसैले जाडो मौसमभरि बारीमा बस्तुसँगै बस्थे रे । ढोँड, पराल आदि बिछ्याउँथे रे । कतिपय त खाडल खनेर त्यहीँ पत्कर बिछ्याएर सुत्थे रे । ढोँड बालेर आगो ताप्थे रे । निद्रा नपर्ने हुनाले रातभरि जसो डोरी बाट्थे रे । ती डोरीहरूकै दाम्लो बनाएर बस्तुभाउलाई बाँध्थे रे । केटा केटीहरू दोहोरी गाउँथे रे ।

८. दुगु ङ्ह्यसँग सम्बन्धित पक्ष
धानपछिको अर्को बाली चाहिँ गहूँ हो । यतिखेर गहूँ छरिसकेका वा छर्ने क्रम चलिसकेका हुन्छन् । अब नयाँ गहूका लागि बैशाख अन्तिम तथा जेठसम्म कुर्नुपर्ने हुन्छ । नयाँ गहूँ चाहिँ चढाउँछन् कि चढाउँदैन ? के कस्तो संस्कार छ वा थियो ? यस सम्बन्धमा अध्ययन जरुरी छ । तामाङ गाउँमा गहूँको जाँड बनाउने प्रचलन पाइन्छन् । त्यो प्रायः बैशाख जेठताका नै पाइन्छन् । शायद उहिले 'दुगुङ्ह्य'मा गहूँको दुज्जे चढाउने प्रचलन थियो । अहिले आएर कतिपयले कोदो वा चामलको दुज्जे पनि चढाउन थालेका छन् ।

९. 'ङ्ह्य' र सम्बन्धित दुज्जे
तामाङ समाज कृषि तथा पुशपालनसँग सम्बन्धित क्यालेण्डरबाट सञ्चालित रहेको छ । 'दुज्जे' तामाङको मौलिक संस्कृतिको एक पक्ष हो । 'दुज्जे'लाई नै अवस्थानुसार 'फुइ', सगुन वा जी/झी पनि भन्दछन् । 'दुज्जे' पनि केको भन्ने हुन्छ । तामाङ सांस्कृतिक वा पर्वगत क्यालेण्डरलाई हेर्ने हो भने, कुन 'ङ्ह्य'मा केको दुज्जे चढाउने भन्ने स्पष्ट हुन सक्छ । यसप्रकार 'दुगुङ्ह्य'मा गहूँ (जौ, उवा आदि)को, म्हेनिङमा मकै र बोइतपमा चामलको दुज्जे चढाउँदा सबैभन्दा उचित हुने देखिन्छ ।

१०. अन्त्यमा
हाम्रा महान् पुर्खाले उल्लेखित मौलिक ज्ञानका आधारमा क्यालेण्डर तयार पारेका भन्ने सहज अनुमान लगाउन सकिन्छ । यतिखेरसम्म पनि हामी आफैँ आफ्ना चाडपर्वहरूलाई चिन्न नसक्ने भएका छौं । त्यसैले आफ्नैलाई पनि अरूले खोसेर लगेका कुराको सुइँकोसम्म पाउन सकिरहेका छैनौं । आफ्ना मौलिक पर्वमाथि अरूले कसरी कुन चाडपर्व किन र कसरी खप्ट्याउन ल्याएका थिए भन्ने पनि अत्तोपत्तो छैन । आफ्नै मौलिक पर्वलाई चिन्न नसक्नाले अरूका भन्दै फाल्न वा अरूलाई नै जिम्मा लगाउन छोडेका छैनौं । यस्तो परिवेशमा 'म को रहेँछु' भन्ने सम्बन्धमा भरपर्दो र गहन अध्ययन अनुसन्धान र विमर्श अत्यावश्यक भएको छ । यसका लागि कल्चरल जिनोलोजिष्टसहितको इमिक प्रस्फेक्टिभबाट अध्ययन अनुसन्धान थाल्ने ऊर्जा तथा प्रेरणा हामी सबैलाई मिलोस् भन्ने हार्दिक शुभकामनासहित बिदा हुन्छु ।
थुजेछे !!!
मिति : २६ मङ्सीर '७६
चाबहिल


गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...