Thursday, December 12, 2019

बोइतप ङ्ह्य (मङ्सीर पूर्णे)



१.  पृष्ठभूमि
तामाङ क्यालेण्डरमा 'बोइतप ङ्ह्य'को आफ्नै महत्त्व रहेको छ । यसैलाई विक्रम सम्वत् चलाउनेले 'मङ्सीरे पूर्णे' भन्छन् । यही दिनदेखि 'उधौली पर्व' शुरू हुन्छ । यसैलाई 'धान्यपूर्णिमा' 'योमरीपुन्हि' भनेर चिन्नेहरू पनि छन् । यो दिन विभिन्न देवस्थलमा मेला (जात्रा)समेत लाग्छन् । 'उधौली'को रूपमा मान्ने संस्कृति अनुसार जाडोका कारण हिमालबाट ऊँधो गढतीरतिर झर्ने समय हो । यसै अवसरलाई पर्वको रूपमा धुमधामका साथ मनाउँछन् । 'योमरीपुन्हि' भन्नेले योमरी नामक विशेष खाद्य परिकार चलाउँछन् । यतिखेर धान बाली भित्र्याएकाले धनधान्यको मौसम मान्दछन् । त्यही भएर 'धान्यपूर्णिमा'को रूपमा पनि मान्नेहरू छन् ।

२.  हिउँद, जात्रा र उठाई विवाह
यतिखेर तामाङ ज्ञान तथा विश्वदृष्टिकोणलाई बुझ्न आवश्यक छ । यो हिउँदको याम हो । जात्रामात्रा वा मेला आदिको मौसम हो । गीत गाउन माहिर तामाङ लोकगायक/गायिकाहरू जात्रा भर्न पुग्छन् । गीत गाउँछन् । त्यस्तै मन मिल्नेहरू भेटिएमा पिरती गाँस्छन् । कतिले भगाउँछन् । कति भाग्छन् । उहिले त मन परेकीलाई उठाएर लैजाने प्रचलन पनि थियो रे भन्छन् ।
मन मिलेर भाग्ने वा भगाउनेका बीचमा खासै समस्या हुँदैनथ्यो रे । जबरजस्ती उठाएर लगेका रहेछन् भने चाहिँ उठाएर लानेले केटीको मञ्जुरी बिना श्रीमतीको रूपमा व्यवहार गर्न पाउँदैन थियो रे । त्यसैले उठाएर लाँदा बीचैमा माइती पक्षले खोसेर फिर्ता लान सक्थे । माइतीले खोसेर फिर्ता लान नसकेमा वा नलगे पनि केटीले स्वीकार नगरुञ्जेल केटाले आफ्नो घरमा वा सुरक्षित स्थानमा स-सम्मान राख्थ्यो रे । पकाउने र राजी गराउने गर्थे रे । यदि केही गरेपनि केटीले नमानेमा स-सम्मान माइती कहाँ पुर्‍याएर जिम्मा लगाउँथे रे । केटीले स्वीकार गरेमा मात्रै माइतीमा सगुन पुर्‍याउँथे रे ।
कतिपय बुढापाकाहरू सुनाउँछन्, उहिले केटी उठाउने भएमा केटाले आफ्ना साथीहरू जम्मा गर्थे रे । केटाले जुरुक्क उठाएर कुदाउँथ्यो रे । त्यसपछि सबैले पालैपालो काँध हालेर बोकेर लान्थे रे । त्यसरी उठाएर कुदाउँदै गर्दा बोक्नेको टाउकोको कपाल भुत्ल्याउँथिन् रे । जता जसलाई पायो टोक्थी रे । कपडा च्यातेर बेहाल बनाइदिन्थी रे । काँधमाथिबाटै पिसाब छोड्थिन् रे । थूSSS थूSSS गर्दै थुक्थिन् रे । तैपनि बडो सम्मान तथा जतनका साथ बोकेरै कुदाउँथे रे । केटीले स्वीकार्नुअघिसम्म चेली जत्तिकै मान्थे रे । अब त्यस्तो चलन छैन ।

३.  'ङ्ह्य' (पूर्णे) र सम्बन्धित पर्वहरू
तामाङ क्यालेण्डरअनुसारका प्रमुख तीन ङ्ह्य (पूर्णे)को विशेष महत्त्व रहेका हुन्छन् । तिनमा दुगु, गोने र बोइतप पर्दछन् । यी 'ङ्ह्य'हरू प्रत्येक चौथो महिनामा पर्दछन् । यसप्रकार वर्षभरिमा जम्मा तीनवटा पर्न आउँछन् । यतिखेरको 'बोइतप ङ्ह्य' चाहिँ कृषि तथा पशुपालनसँग सम्बन्धित एक चाड हो । यतिखेर धान भित्र्याएका वा भित्र्याउँदै हुन्छन् । तामाङ मान्यता अनुसार कुनै पनि बालीको बीउमा सह हुनुपर्छ । सह स्थापित गरेर बीउ छर्नुपर्ने हुन्छ । त्यसो गर्नाले फसल राम्रो हुन्छ । त्यसको सेवनले राम्रो गर्छ । त्यसैले 'नम्दुङ' महिनामा 'सेरकेम' गर्छन् । सेरकेम 'नम्दुङ' अर्थात् विक्रम सम्वत् अनुसारको चैते दशैँको दिन हुन्छ । त्यसपछि'दुगु ङ्ह्य' (वैशाख/बुद्धपूर्णिमा)को 'ह्युल्जे' गर्दछन् । 'ह्युल्जे'लाई नै कतिपयले 'भूमेपूजा' पनि भन्ने गरेका पाइन्छन् ।

४.  नयाँ अन्न चढाउनुको रहस्य
उल्लेखित दुर्इ पर्व (बोइतप र दुगु ङ्ह्य)का अवसर पारेर बीउमा सह स्थापित गराउँछन् । स्थानीय शक्तिहरू र 'फो ल' समेतलाई आह्वान गर्छन् । त्यसैले ती अन्न उत्पादन भएपछि सबैभन्दा पहिले तिनै शक्तिहरूलाई चढाउनुपर्ने हुन्छ । नचढाई खाएमा देउता रिसाउँछन् र कान काट्छन् । बालीका रोगव्याधी तथा जीवजन्तुका प्रकोप बढ्छन् । यसको लाक्षणिक अर्थ चाहिँ अन्न उत्पादनको क्रममा अनेकन कीटपतङ्गको हत्या भएका हुन्छन् । ती मारिएका प्राणीका चित्तले ती अन्नका दानालाई पिरेर बसेका हुन्छन् । उत्पादिन नयाँ अन्न देउतालाई चढाएपछि मारिएका प्राणीका चित्तले मोक्ष प्राप्त गर्छन् । अन्न शुद्ध हुन्छन् र सेवनयोग्ग बन्छन् ।
त्यही भएर गोने ङ्ह्य (जनैपूर्णिमा)को दिन पहिलो नयाँ मक्र (नवङ्गी स्वरूप) चढाउँछन् । सबैभन्दा ठूलो बाली भएकोले गोने ङ्ह्यपछि ह्वरीस्हुङ भन्दै बारीका देउतालाई फेरिपनि मकै चढाउँछन् । म्हेनङ/म्हेनिङमा खेप्पास्हुङको अवसरमा पनि नयाँ मकैका दाना 'स्हिने' भनेर चढाउँछन् ।
मकैपछिको दोस्रो ठूलो बाली कोदो र धान हो । धान चढाउने चाहिँ 'बोइतप ङ्ह्य' (मङ्सीर पूर्णे)को अवसरमा हो । यतिबेला गोठका देवीदेउताका पूजा गर्दछन् । नयाँ धानको चामल बनाउँछन् । खीर पकाएर चढाएपछि नयाँ धानलाई सेवनयोग्य ठान्छन् तर यसको कल्चरल जिनोलोजिकल पक्ष मात्रै बाँकी रहेको छ । बाँकी संस्कृति प्रायः लोप भइसकेको देखिन्छ । वास्तवमा यो 'ङ्ह्य' चाहिँ नयाँ धान बाली भित्र्याएपछि स्थानीय शक्तिहरूलाई मकै चढाए जसरी चढाउने अवसर वा पर्व हो । त्यस्तैगरी पशुपालनसँग सम्बन्धित पर्व पनि हो ।

५.  बोइतप ङ्ह्य र पशुपालनको सम्बन्ध
यतिखेर गोठको पूजा गर्नुको पनि केही न केही कारण हुनुपर्दछ । खासमा कात्तिकमा बस्तुभाउलाई एकठाउँबाट अर्को ठाउँमा सार्न उचित मान्छन् । किनकी त्यतिखेर सार्दा पानी लाग्दैन । मङ्सीरबाट जाडोको शुरूवात हुन्छ । बस्तुभाउको लागि यो त्यति उचित समय होइन । बस्तुका लागि सबैभन्दा धेरै त घाँसकै कुरा आउँछ । घाँसको कमि हुनाले यसपछि बस्तुभाउ पालनमा समस्या आउने गर्दछ । जाडो साथै घाँसको अभावमा बस्तुहरू दुब्लाउने, दूध कम हुने वा नआउने पनि हुन सक्छन् । यस्तो अवस्थामा पशुधनको सुरक्षा निकै चुनौतीपूर्ण हुने नै भयो । त्यही भएर पशुधनको सुरक्षाको लागि सम्बन्धित देवी देउताको पूजा गर्दछन् ।
विशेषतः पहाडी भेगमा यही मौसम पारेर बस्तुभाउहरू 'खरक'मा राख्छन् । 'खरकप्रथा' अहिले अति न्यून भइसकेको छ । पहिले यो निकै प्रचलनमा थियो । यतिखेर प्रायः खेतबारी खाली (बाँझो) हुन्थे । त्यस्ता खेतबारीमा बस्तुभाउ लगेर बाँध्थे । कतिपयले शिछारी (सेउला आदिका शीत छल्न बनाएका छहारी) बनाएर राती पनि बारीमा नै राख्थे । त्यसरी राख्नुलाई नै 'खरक' भन्ने गर्दछन् । त्यसैलाई खेतबारी मल्याउने (मल लगाउने) पनि भन्दछन् । यतिखेर प्रायः मान्छे खेतबारीमा नै हुन्छन् ।

६.  'सिँबी क्लङ्बा (सिँबी खेल)
उहिले केटाकेटीहरू शिछारीमा बसेका बेला 'सिँबी' खेल्थे । यो एक प्रकारको खेल हो । विशेषतः युवा युवतीहरू आ-आफ्ना झुण्ड बनाएर खेल्थे । शुरूमा एकजनालाई 'सिँबी' (छुचुन्द्रो) बनाउँछन् । अन्य साथीहरू लुक्न जान्छन् । सिँबी बन्नेले 'भयो कि भएन' भनेर कराउँछन् । लुक्न गएकाले 'भयो' भनेपछि खोज्न लाग्छ । सिँबी बन्नेले हातमा मकैको ढोँड लिएको हुन्छ । लुकेर बसेकालाई भेटाएपछि मकैको ढोँडले हान्न थाल्छ । 'भयो' नभनेसम्म हानेको हान्न छोड्दैन । 'भयो' भनेपछि चाहिँ हान्दैन । त्यसपछि 'भयो' भन्ने पनि सिँबीमा परिणत हुन्छ । अन्ततः सबैजना सिँबी भएपछि खेल सकिन्छ ।
उहिले रातभरि जस्तै यस्तो खेल खेल्थे रे । खेल्ने बेला कोही रूखमा, कोही कान्लामुनि, माथि त कोही झ्यास आदिका थुप्रोमा लुक्थे रे । लुकेका साथी देखियोस् भनेर झ्यासमा आगो पनि लगाउँथे रे । त्यतिखेर भने झ्यासमा लुकेर बसेका केटाको लगौटीमा आगो पनि लाग्न सक्थ्यो रे । लगौटीमै आगो लागेपछि निस्केर भाग्थ्यो रे । त्यही दृश्य हेरेर खूब रमाइलो गर्थे रे । अहिलेका नयाँपुस्ताले यो खेलको नाम नै सुन्न पाइरहेका छैनन् ।

७. जाडो छल्ने मौलिक तरीका
जाडो यामभरि यो खेल चल्थ्यो रे । ओढ्न ओछ्याउन लुगा हुँदैनथ्यो रे । त्यतिखेर भाङ्ग्राको बोरा पाउनु पनि भाग्यको कुरा हुने । त्यसैले जाडो मौसमभरि बारीमा बस्तुसँगै बस्थे रे । ढोँड, पराल आदि बिछ्याउँथे रे । कतिपय त खाडल खनेर त्यहीँ पत्कर बिछ्याएर सुत्थे रे । ढोँड बालेर आगो ताप्थे रे । निद्रा नपर्ने हुनाले रातभरि जसो डोरी बाट्थे रे । ती डोरीहरूकै दाम्लो बनाएर बस्तुभाउलाई बाँध्थे रे । केटा केटीहरू दोहोरी गाउँथे रे ।

८. दुगु ङ्ह्यसँग सम्बन्धित पक्ष
धानपछिको अर्को बाली चाहिँ गहूँ हो । यतिखेर गहूँ छरिसकेका वा छर्ने क्रम चलिसकेका हुन्छन् । अब नयाँ गहूका लागि बैशाख अन्तिम तथा जेठसम्म कुर्नुपर्ने हुन्छ । नयाँ गहूँ चाहिँ चढाउँछन् कि चढाउँदैन ? के कस्तो संस्कार छ वा थियो ? यस सम्बन्धमा अध्ययन जरुरी छ । तामाङ गाउँमा गहूँको जाँड बनाउने प्रचलन पाइन्छन् । त्यो प्रायः बैशाख जेठताका नै पाइन्छन् । शायद उहिले 'दुगुङ्ह्य'मा गहूँको दुज्जे चढाउने प्रचलन थियो । अहिले आएर कतिपयले कोदो वा चामलको दुज्जे पनि चढाउन थालेका छन् ।

९. 'ङ्ह्य' र सम्बन्धित दुज्जे
तामाङ समाज कृषि तथा पुशपालनसँग सम्बन्धित क्यालेण्डरबाट सञ्चालित रहेको छ । 'दुज्जे' तामाङको मौलिक संस्कृतिको एक पक्ष हो । 'दुज्जे'लाई नै अवस्थानुसार 'फुइ', सगुन वा जी/झी पनि भन्दछन् । 'दुज्जे' पनि केको भन्ने हुन्छ । तामाङ सांस्कृतिक वा पर्वगत क्यालेण्डरलाई हेर्ने हो भने, कुन 'ङ्ह्य'मा केको दुज्जे चढाउने भन्ने स्पष्ट हुन सक्छ । यसप्रकार 'दुगुङ्ह्य'मा गहूँ (जौ, उवा आदि)को, म्हेनिङमा मकै र बोइतपमा चामलको दुज्जे चढाउँदा सबैभन्दा उचित हुने देखिन्छ ।

१०. अन्त्यमा
हाम्रा महान् पुर्खाले उल्लेखित मौलिक ज्ञानका आधारमा क्यालेण्डर तयार पारेका भन्ने सहज अनुमान लगाउन सकिन्छ । यतिखेरसम्म पनि हामी आफैँ आफ्ना चाडपर्वहरूलाई चिन्न नसक्ने भएका छौं । त्यसैले आफ्नैलाई पनि अरूले खोसेर लगेका कुराको सुइँकोसम्म पाउन सकिरहेका छैनौं । आफ्ना मौलिक पर्वमाथि अरूले कसरी कुन चाडपर्व किन र कसरी खप्ट्याउन ल्याएका थिए भन्ने पनि अत्तोपत्तो छैन । आफ्नै मौलिक पर्वलाई चिन्न नसक्नाले अरूका भन्दै फाल्न वा अरूलाई नै जिम्मा लगाउन छोडेका छैनौं । यस्तो परिवेशमा 'म को रहेँछु' भन्ने सम्बन्धमा भरपर्दो र गहन अध्ययन अनुसन्धान र विमर्श अत्यावश्यक भएको छ । यसका लागि कल्चरल जिनोलोजिष्टसहितको इमिक प्रस्फेक्टिभबाट अध्ययन अनुसन्धान थाल्ने ऊर्जा तथा प्रेरणा हामी सबैलाई मिलोस् भन्ने हार्दिक शुभकामनासहित बिदा हुन्छु ।
थुजेछे !!!
मिति : २६ मङ्सीर '७६
चाबहिल


Friday, November 1, 2019

तिहार एक चर्चा !

 (सोङराती थुमथुम/कात्तिक अमावश्या/दीपावली/दिवाली/दीपदान उत्सव/यमपञ्चक/तिहार/तिवार)
१. परिवेश
      यतिखेर तिहारको रौनकता छ । भैलीदेखि अनेक समूहका चहलपहल छ । दियोदेखि झिलिमिलि पारेर अनेक बिजुली बाल्ने पनि छन् । घरहरू प्रकाशमय भएका छन् । टिमटिम गर्दै चम्किएका छन् । आजै दिउँसो पोखराबाट धनप्रसाद तामाङ अस्यङले मोबाइलमा सम्पर्क गर्नु भएको थियो । केही कुराकानी गरेका थियौं । म्हेनिङपछि सोङराती र सोइनमको बारेमा पनि कुरा भएको थियो । म्हेनङ/म्हेनिङमा धेरै केन्द्रित भएँछु क्यारे । सोङराती र सोइनमको बारेमा खासै समय दिनै सकिनँछु ।

      यही साँझसँगै अलिक खोज्ने प्रयास गर्दैछु । हुन त केही दिनअघिदेखि नै खोज्ने प्रयास नगरेको पनि होइन । आज अलिक बढी नै सताउन थाल्यो । त्यसैले अलिक जाँगर चलाउन खोजेको; तरकारी डडेर कालै भएछ । अरूका घर कोठामा झिलिमिलि अनि सुवास तर आफ्नो चाहिँ तरकारी डडेको गन्ध ! कठै, विचार मेरो पीडा मैसँग छ । बर्मा गएपनि कर्म सँगै भने जस्तै !

. लोकोत्तर लोकवादी विचार
      सत्तरीको शुरूवातसँगै हामीले लोकोत्तर लोकवादी विचार समूह शुरू गरेका थियौं । यसलाई साहित्यिक आन्दोलन भनेका थियौं । नाम सुनेकै भरमा कतिपयले राजनैतिक पार्टी पनि भन्थे । कतिले चाहिँ साहित्यिक आन्दोलन नै हो भनेर चिन्थे । त्यतिखेर, तामाङ राजनीतिज्ञहरूका एउटा पार्टी पनि रहेछ । त्यो पार्टीका महासचिव रहेछन्; जोसँग चिनजान थिएन । या त सामान्य चिनजान मात्रै थियो । म पनि कतै खोजराज भनेर चिनाउथेँ । साहित्यिक नाम भने गोले केआर चालिसेली भन्थेँ । त्यसैले कतिपय मान्छे अलमलिन्थे । त्यस्तै के भएर पो त्यो साथीले मलाई राम्ररी चिन्न सकेका रहेनछन् ।

       एक भेटमा त्यो साथीसँग राम्रै चिनजान भएको थियो । उनैले सुनाएका थिए- खोजराज भन्ने मान्छेले नेपाल तामाङ घेदुङको पूर्वअध्यक्ष धनप्रसाद तामाङलाई लगेर लोकोत्तर लोकवादी नामक साहित्यिक आन्दोलन थालेको छ रे । त्यो को रहेछ ? एकपटक भेट्नै पर्‍यो भन्ने थियो । साथीहरूसँग पनि कुरा चलिरहेकै थियो । आज पो थाहा पाएँ । धनप्रसाद जस्तो राजनैतिक व्यक्तित्वलाई साहित्यिक आन्दोलनमा लगेर अध्यक्ष बनाउने तपाईँ रहेछ । कसरी सम्भव भयो ? उहाँ त राजनैतिक व्यक्ति हो । कसरी तपाईँको साहित्यिक आन्दोलनको अध्यक्ष बन्न सहमत हुनु भयो ?

        उत्तर थियो- हैन, उहाँ (धनप्रसाद तामाङ) राजनीतिक व्यक्तित्व मात्रै होइन । उहाँ त साहित्यिक स्रष्टा पनि हो । उहाँले केही गीत लेख्नु भएको छ । रेकर्ड भएका पनि छन् । पोखरातिरका एफ.एम.हरूमा बजाउँछन् पनि ! सरुभक्तको दौँतरी हुनुहुन्छ । असार र सिर्जना नामक साहित्यिक शृङ्खला उहाँकै देन हो । त्यसको प्रवर्तक पनि हुनुहुन्छ । उहाँ साह्रै छोटो कविता लेख्ने स्रष्टा पनि हुनुहुन्छ । राजनीतिक रूपमा पनि उहाँको आफ्नै परिचय बनेको छ । उहाँलाई मैले मेरोमा लगेर अध्यक्ष बनाएको होइन । बरु उहाँकै अवधारणामा हामी आवद्ध भएका हौं । लोकोत्तर लोकवादी विचार समूह भनेको साहित्यिक आन्दोलन हो । यसको कोही अध्यक्ष वा अन्य कुनै साङ्गठानिक पद छैन । हामी सबै प्रवर्तक भन्छौं । यस्तै यस्तै भनेको थिएँ ।

        कुनै समय पोखरामा चलेको हास्यरसयुक्त मुक्तक स्रष्टाको रूपमा पनि धनप्रसाद तामाङले प्रख्याती कमाउनु भएकै थियो । उहाँका यत्तिधेरै फ्यान थिए । प्रायः दर्शकहरू उहाँलाई स्टेजमा देख्नासाथ त्यत्तिकै हाँस्थे । एकताका पोखरामा पूरै मुक्तक भन्नै पर्दैनथ्यो रे । दर्शकहरूलाई सबै मुक्तक कण्ठस्थ ! तैपनि मुक्तक सुन्नेका भीड हुन्थ्यो रे । त्यसपछि यति नम्बरको मुक्तक भन्नासाथ दर्शकलाई यो मुक्तक भन्ने थाहा भइहाल्थ्यो । त्यसैले यति नम्बरको मुक्तक मात्रै भनेपनि पुग्थ्यो रे । अचम्म, त्यति सुन्नै पनि दर्शक श्रोताको भीड लाग्थ्यो रे ।

३. आसा अभियानभित्र म्हेनिङला सोइनम
     लोकोत्तर लोकवादी साहित्यिक आन्दोलनभित्र आसा (आदिवासी साहित्यिक) अभियान चलाएका थियौं । तामाङको मौलिकता खोज्ने प्रयास गरेका थियौं । प्रङ्ग्यललाई तामाङ हिरो भनेका थियौं । 'प्रङ्ग्यलला म्योबा लोङ्सोर' पनि चलाएका थियौं । तामाङ खाद्य संस्कृतिसम्बन्धी भव्य कार्यक्रम गरेका थियौं । गोने ङ्ह्यलाई ज्ञान दिवस भनेर शुरू गरेका थियौं । म्हेनङबारे खोजमा लागेका थियौं । म्हेनिङला सोइनम चलाएका थियौं । सिन्धुली, सर्लाही, पोखरा, काभ्रे, ललितपुर, काठमाडौंका विभिन्न स्थानमा म्हेनिङला सोइनम चलेकै थियो । बुद्धि तामाङले विशेषज्ञको रूपमा अतुलनीय योगदान पुर्‍याउनु भएको थियो ।

      त्यही प्रसङ्गमा कात्तिकमा पर्ने सोङरातीको बारे पनि खोज्ने प्रयास गरेका थियौं । म्हेनिङ पछि सोङरातीमा लम (लामा)द्वारा सोइनम खोल्ने प्रचलन पाइएको छ । त्यसको बारेमा खोजेका थियौं । त्यसक्रममा पल्सङबज्र लामाज्यूले ठूलो सहयोग गर्नु भएको थियो । तामाङ स्रष्टा समाज समेत जोडिन आएको थियो । त्यसरी ''म्हेनिङला सोइनम'' भनेर पनि धेरै भइसकेछ । आज म्हेनिङ र सोइनमसँग जोडेर लाइक पेजहरू बनेका छन् । राम्ररी अपडेट गर्न सकिरहेका छैनौं । यद्यपि, पोखराका तामाङजन थाक्नु भएको छैन । उहाँहरुले ताजा (तामाङ जागरण) अभियान पनि चलाउनु भएको छ । असार र सिर्जनाबारे नेपाली साहित्यिक पुस्तकहरूमा उल्लेख पाइन्छन् । जुन धनप्रसाद तामाङको पौरख हो । त्यहाँ जातीय वा नश्लीय चेतबाट पSर कृषि र स्रष्टाहरू जोडिएका छन् ।

४. सोङराती थुमथुम (तिवार)सहितको तामाङ क्यालेण्डर
     यत्तिखेरसम्ममा धेरै चिप्लिँदैछु । धर्मरिँदै सम्हालिने प्रयास गर्छु । कहाँ सोङराती थुमथुम/कात्तिक अमावश्या (औंशी)/दीपावली/दिवाली/यमपञ्चक/तिहारको बारेमा लेख्ने प्रयास गर्दै थिएँ । कता-कता हराएँछु क्यारे । अब भने विषयमा बढी केन्द्रित हुन्छु ।

      हामीले तिहार भनेर चिन्दै आएको सोङरातीको थुमथुममा पर्ने चाडको बारेमा पनि खोज्ने प्रयास गरेको कुरा माथि नै लेखिसकेँ । त्यतिबेला हामीले सोङरातीलाई सोइनम परम्परासँग जोडेर हेर्ने प्रयास गरेका थियौं । जुन, बौद्ध विधिसँग नजिक थियो । हामी विश्वस्त थियौं कि- तामाङ पुर्खाले एकदमै सबल क्यालेण्डर बनाएका रहेछन् । सांस्कृतिक रूपमा सुन्दर सिर्जना पस्केका छन् । त्यसक्रममा ख्रे ल (माघ)को पञ्चमीमा सीप दिवस बनाएका छन् । त्यसको छ महिनापछि गोने ङ्ह्यमा ज्ञान दिवस चिनाएर राखेका छन् ।

क) कृषि, प्राणी हत्या र मुक्तिमार्ग
       खासमा हाम्रा संस्कृतिगत चाडपर्वहरू कृषिमय छन् । खेती, किसानी अनि पशुपङ्क्षी पालनद्वारा जीविकोपार्जन गर्ने तरीका हाम्रा पुर्खाद्वारा हामीले प्राप्त गरेका छौं । जसअनुसार, ''ख्रे ल''को पञ्चमीमा मकैको छेवर गर्छौं । बालीनाली तथा पशुपङ्क्षीका साथै मनुष्यको सुरक्षाका लागि नम्दुङ (चैत)मा स्थानीय शक्तिहरूलाई सेरकेम गर्छौं । दुगु (बैशाख) ङ्ह्यमा ह्युल तथा ''फो ल''लाई स्हिवामण्डल गर्छौं । तामाङ विश्वास के रहेछ भने- हामीले खेती गर्छौं । अन्न उत्पादन हुन्छन् । एक दाना अन्न उत्पादनको लागि पनि कैयन् कीराफट्याङ्ग्रालाई मारेका हुन्छौं । त्यसैले हत्याको बात लाग्छ ।

        धार्मिक विश्वासको भाषामा 'बर्ज्य्रा' लाग्छ । जुन अन्न उत्पादनको लागि मारिएका प्राणी हुन्छन्; तिनका चित्तले तिनै उत्पादित अन्नलाई पिरेर बस्छन् । त्यसैले अन्न अशुद्ध हुन्छन् । त्यसलाई शुद्ध नगरिकन खानु हुँदैन । त्यस्ता अन्नले राम्रो गर्दैन । शुद्ध पारेपछि अर्थात् ती अन्न उत्पादनको क्रममा मारिएका जीवका चित्तलाई मुक्तिमार्गबाट पार लगाएपछि मात्र अन्न शुद्ध हुन्छन् । खाद्यको रूपमा प्रयोग गर्न लायक वा उचित हुन्छ । यो विश्वास कसैका लागि अन्धाविश्वास वा अवैज्ञानिक लाग्न पनि सक्ला तर हाम्रा पुर्खाले बसाएका थिति हो । त्यसैले हाम्रो निमित्त यो सांस्कृतिक पहिचान हो ।

१) लङ तप्प (लप्सङकर्पो सभ्यता)
        हाम्रा पुर्खाले माथि उल्लेखित अन्न उत्पादन तथा जीव हत्यासम्बन्धी समस्या समाधानको उपाय पनि खोजेका रहेछन् । शुरूमा खनजोतको नाममा अनेक जीवका हत्या गरिन्छन् । लप्सङकर्पो सभ्यताका तामाङले त्यो हत्याको बातबाट मुक्तिका लागि 'लङ तप्प' (गोरु जोत्दा गाउने गीत) बनाएका रहेछन् । आज पनि धादिङ र रसुवाका कतिपय भेगहरूमा यो गीत प्रचलित छ । तामाङ विश्वास अनुसार 'लङ तप्प' गीत गाउँदै जोत्नु उचित हुन्छ ।
       त्यसरी जोत्दा मारिने वा मारिएका जीवका चित्तले गीत सुन्छन् । गीतले तिनलाई मुक्तिपथमा लैजान्छ । गोरुलाई कुट्ने र जोत्ने क्रममा पनि पाप लाग्छ । त्यो पाप पनि सोही गीतले कटाउँछ । खेतबारीमा काम गर्न जम्मा भएका हुन्छन् । तिनले गरेका फोहोरका कारण स्थानीय शक्तिहरूलाई असहजता थपिन्छन् । त्यसैले रिसाउन पुग्छन् । 'लङ तप्प' गीत सुनाउँदै गोरु जोतेपछि ती शक्तिहरू पनि खुशी हुन्छन् ।

२) सेरकेमदेखि ह्युल्जे, गोने ङ्ह्य र खेप्पास्हुङ हुँदै गोठेपूजासम्म
        यसैका समानान्तर यम्बुलिङ/मावर सभ्यतामा भने सेरकेम र ह्युल्जे अनि स्हिवामण्डल प्रचलित रहेको देखिन्छ । लप्सङकर्पो र शैलुङ सभ्यतामा पनि कतै न कतै यसको अवशेष भेट्टाउँछौं । सेरकेम गरेपछि खेतीपाती शुरू गर्दा हुन पुगेका हत्या तथा विचलनको दोषबाट मुक्ति मिल्छ । 'लङ तप्प' र सेरकेम तथा ह्युल्जे गरेपछि पनि खेतीपातीका क्रममा अझै धेरै जीवका प्राण लिन पुगेका हुन्छौं । त्यसको दोषबाट मुक्तिका खातिर गोने ङ्ह्यमा मकै चढाउँछन् । स्थानीय शक्ति तथा 'फो ल' लाई चढाएपछि मारिएका प्राणीका चित्तलाई मुक्ति मिल्छ । नयाँ अन्न (नवाङ्गी) शुद्ध हुन्छन् । सेवन गर्न लायकको बन्छन् ।

      त्यस्तैगरी दशैँमा खेप्पास्हुङ गर्छन् । त्यहाँ पनि त्यो वर्षको नयाँ मकै गुरुचनलाई चढाउँछन् । त्यसपछि घरमा भित्र्याइएका मकै पूर्णतः खानयोग्य अझै भनौं अमृत समान हुन्छन् । सोही अवसरमा ताSफोले (सयपत्री) पनि गुरुचनलाई चढाउँछन् । त्यसरी चढाएपछि मनुष्यलाई फूलहरू प्रयोग गर्ने अख्तियारी प्राप्त हुन्छ । कुनै बात लाग्दैन । त्यसपछि पनि नयाँ धानाबली भित्र्याउने कार्य पूरा भइसकेको हुँदैन । त्यही बाँकी पुण्य कार्य पूर्णताको लागि बोइतप (मङ्सीर) पूर्णिमामा गोठेपूजा गर्छन् । नयाँ धानको चामल बनाउँछन् । खीर पकाउँछन् । देउतालाई चढाउँछन् । त्यसपछि धान उत्पादनको क्रममा मारिएका जीव वा प्राणीहरूलाई पनि मुक्ति मिल्छ भन्ने विश्वास गर्छन् ।

३) सोङराती थुमथुम र सोइनम प्रथा
      बोइतपअघि र म्हेनिङपछि बीचमा सोङराती (कात्तिक) पर्छ । यहाँ उल्लेखित तामाङ महिना र नेपाली भनिएको सूर्यपात्रो अनुरुपको ठ्याक्कै त्यही हो भनेर नबुझ्नु होला । त्यसरी मात्रै बुझ्दा गलत हुन पुग्छ । हो; सोङरातीमा सोङराती नामक एक प्रजातिको फूल फुल्छ । सोही फूल फुल्ने हुनाले नै यो महिनाको नाम नै सोङराती राखेका हुन् । सोङराती जस्तै ड्वाफ्रे नामक फूल फुल्ने महिनाको नाम नै ड्वाफ्रे राखे । म्हेमेदङ खोज्ने र पुज्ने महिनाको नाम म्हेनङ राखे । देउताहरूले एक महिनासम्मको गुप्तबासपछि ढोका खोल्ने महिनाको नाम नै गोने राखेका भन्ने विश्वास पाइएको छ ।

      सोङराती र नम्दुङ (कात्तिक र चैत)मा भने तामाङ लम (लामा)ले गाउँमा सोइनम खेल्ने प्रचलन रहेको छ । सोइनम परम्परा हिमाली बौद्ध मान्यतामा आधारित रहेकोमा कुनै शङ्का छैन । माथिल्ला हरफहरूमा उल्लेखित पक्ष चाहिँ बोनसँग सम्बन्धित हुन् । तामाङमा जब लामाको प्रवेश हुन्छ; तब सोइनम पनि घुस्छ । सोङरातीमा सोइनम खेल्नुपर्छ भन्छन् । त्यसो गर्नाले मकै लगाउँदा मारिएका प्राणीका उद्धार हुन्छन् । नम्दुङमा सोइनम खेल्नाले बीउका रूपमा राखिएका वा छरिएका अन्न सुरक्षित हुन्छन् । बीउमा अन्नको सह आउँछ । सहसहितको बीउले राम्रो फसल दिन्छ । राम्रो फसल प्राप्त भएपछि सोङरातीमा पुनः सोइनम गर्छन् ।

       तामाङ समाजमा सौर्यपात्रो अनुरूपको चैत र कात्तिकलाई दशाग्रहको मास मान्छन् । त्यसैले पनि लामाद्वारा सोइनम खेलाउनुपर्छ भन्छन् । यहाँ उल्लेखित 'सोइनम खेल्ने' भन्दा कुनै खेल भन्ने हुन सक्छ । यो खेल भने होइन । त्यसैले लामाविधि अनुरूप गरिने एक प्रकारको अनुष्ठान भन्दा अझै राम्रो हुनेछ । यसप्रकार हामी (लोकोत्तर लोकवादी विचार समूह)ले ''म्हेनिङला सोइनम'' घोषणा गरेका थियौं । कार्यक्रमहरू गर्दै आएका छौं । यहीक्रममा सोइनमलाई माथि भनिएअनुसार बुझेका र बुझाउने प्रयास गरेका थियौं । सोइनम सम्बन्धी यस्तो बुझाई राख्दा प्रश्न उठ्न सक्छ । हाम्रो मान्यता चाहिँ हरेक संस्कार संस्कृतिलाई आफ्नो करण गर्नु पर्छ भन्ने हो । त्यस सम्बन्धी आफ्नो मूल्य, मान्यता र बुझाई निर्माण गर्नु पर्छ भन्ने हो ।

        यसको अतिरिक्त थप अर्को पक्षलाई पनि जोडेका थियौं । जस्तो, लामाले सोइनम खेल्दै हाम्रो घरआँगनीमा पाइला टेक्छन् । सोइनम खेल्छन् । त्यसो गर्दा हाम्रो घरमा भित्र्याइएका अन्न शुद्ध/पवित्र/अमृतसमान हुन्छन् । ती अन्न उत्पादनका क्रममा मारिएका प्राणीका चित्तले पनि मुक्ति प्राप्त गर्छन् । त्यस्तो पुण्यकर्म लामाले गर्छन् । त्यस्तो पुण्य कार्य गरिदिएपछि जिन्दाले पनि लामालाई केही दान गर्नु पर्छ ।

       दानपारमिताको प्रसङ्ग यहीनेर जोडेका थियौं । सोइनम शब्द शाब्दिक रूपमा सोनमसँग जोडिएको छ । सोनमको अर्थ कृषि हो । त्यस्तैगरी सोइनम भन्नाले सोनमबाट प्राप्त अन्नलाई शुद्ध पारिदिएबापत् दान गर्ने र पुण्य कमाउने भन्ने हुन्छ । सोनमको अर्थ नै अन्न पनि भन्न सकिन्छ । सोइनमलाई दानसँग जोडेर तामाङकृत मान्यतासम्बन्धी खोज तथा लेखन कार्य भने प्रवर्तक धनप्रसाद तामाङले गर्दै आउनु भएको छ ।

४) सोइनमको तामाङकरण साथै लामापाथी
      बौद्धदर्शनमा दानपारमिताको प्रसङ्ग पाइन्छन् । तामाङको सोइनम शब्द नै बौद्धदर्शनका ग्रन्थहरूमा पाउलान् वा नपाउलान् । त्यो दोस्रो पक्ष हो । पहिलो चाहिँ ''तामाङ बुद्धिजम्''को यो एउटा विश्वास वा पाटो भने अवश्य हो । बौद्धमा पनि तामाङ बुद्धिष्ट भनेर चिनाउने क्रममा सोइनमले ठूलो भूमिका खेल्न सक्छ । सोइनमको बारेमा अन्य बौद्धले फरक मत र विश्वास राख्न सक्छन् । हाम्रा तामाङले चाहिँ माथि उल्लेखित विश्वास लिएको पाइन्छ । बिर्सन नहुने पक्ष यो पनि हो कि, तामाङ लामाले खेतीबालीको सुरक्षार्थ फिरफिरे राख्छन् । त्यसको आफ्नै विधि विधान रहेको देखिन्छ । त्यसरी फिरफिरे राखे बापत् लामापाथीको प्रथा रहेको थियो ।

५) म्हेनिङदेखि सोङराती थुमथुम र खर्क प्रचलन
      सामान्य रूपमा यहाँ उल्लेख गर्न खोजिएको पर्व भनेको तिवार (तिहार) भनेर बुझ्दा पनि खासै आपत्ति जनाउनु पर्छ भन्ने लागेको छैन । मेरो आफ्नो बुझाई भनुँ वा मैले प्राप्त गरेको प्रमाणको आधारमा भन्ने हो भने; यो पूर्णतः पशुपालनसँग सम्बन्धित पर्व हो । म्हेनिङ पूर्णतः खेतीसँग भन्न सकिन्छ । तामाङ भनेको हिमाली तथा पहाडी राष्ट्र हो । अहिले ताम्सालिङ भनिएको क्षेत्रमा उहिले खर्क प्रणाली कायम थियो । त्यहीबाट गोठ र गोदेवा जस्ता शब्दहरू पनि बनेका पाइन्छन् । उतिबेला बस्तुभाउहरू जङ्गलमा लग्थे । म्हेनिङमा गाउँको बारी खाली हुन्थे । वर्षभरिकै सर्वोत्कृष्ट महिना भएकोले पनि म्हेनिङको महत्त्व बढी नै हुने भयो । खाली बारीमा ल्याएर बस्तुभाउ राख्थे । धुमधामसँग म्हेनिङ मान्थे । मगरले डस्यक्के मान्थे । लिगलिगकोटमा राजा छान्थे ।

       हो; हाम्रा बस्तुभाउ सकुशल आइपुगे । गोठालाहरू आइपुगे । अन्नबालीमा पनि मुख्य मकै बाली भित्र्यायौं । यो खुशी तथा सुखद् अवसरमा पितृपुर्खालाई धन्यवाद । स्थानीय झ्योहो/झ्योमो, ने'दा, सिप्दा लगायतका शक्तिहरूलाई साधुवाद । यसपालि उत्पादित अन्नबालीबाट तिम्रो अंश बापतका अन्न तथा ताSफोले तिमीलाई भनेर गुरुचनलाई चढाउने पर्व नै म्हेनङ हो । म्हेमेदङको खोजी तथा वाचन गर्ने हुनाले म्हेनङ वा म्हेनिङ भनेका हुन् । त्यसक्रममा दही अक्षताको टीका र जौको जमरा लगाउने प्रचलन चलाएका भन्ने स्पष्ट हुन्छ; जसले कृषि तथा पशुपालनको युगलाई इङ्कित गर्छ ।

       यो प्रचलन मगरातका मगरमा पनि पाइन्छन् । थारुका सखियाको कल्चरल जिनोलोजी पनि म्हेनिङसँग नजिककै रहेको छ । गुरुङ र थकाली तामाङको सबैभन्दा नजिकको सम्बन्धी हुन् । ह्योल्मो/योल्मो र तामाङलाई फरक भन्नुको खासै तुक देखिदैन । तामाङले माथि उल्लेख गरिएअनुसार म्हेनिङ मान्छन् । त्यसपछि सोङरातीको थुमथुमपछि बस्तुभाउ पुनः खर्कहरूमा लग्छन् । त्यसपछि अर्को म्हेनिङमा मात्रै आइपुग्ने हुन्छन् । जङ्गलमा बस्तु लिएर गोठाला जाने भनेको तत्कालिक समयमा छोरोमान्छेकै कर्म हुन्थ्यो । दाजुभाइ वा छोरामान्छेहरू जङ्गलमा गोठाला जान्थे । जङ्गलमा असुरक्षित हुनु स्वाभाविक हुन्थ्यो । त्यसैले सुरक्षाको लागि चेलीहरूले दाजुभाइलाई विदाई स्वरूप भाइटीकाको प्रचलन चलाएको भन्ने घाम जत्तिकै स्पष्ट हुन्छ ।

       सोहीक्रममा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाउँछन् । कहिल्यै नसुक्ने तेलले घेरा बाँध्छन् । जम/जमराज (यमराज)को टाउको भन्दै ओखर फोड्छन् । ओखर नपाएमा गोलभेँडा भएपनि फोड्छन् । माइतीलाई पूरा सुरक्षित बनाएर गोठाला पठाउँछन् । त्यही चाडलाई अहिले धेरैजसोले हिन्दू चाड भनेर भन्न थालेका छन् । हिन्दूका चाड हो कि तामाङको भन्नेमा निर्क्योल गरिदिने कोही भएन । गरिरहन आवश्यक पनि नहुनु पर्ग्थ्यो । तर पहिचानकै निहूमा कसैमाथि लाद्ने, अरूका खोस्ने तथा बहिष्कार गर्ने अतिवादी कर्म चलेको छ । जसले गर्दा नचाहेरै पनि बोल्न र लेख्न बाध्य भएका छौं । 
    
      छयालीसको परिवर्तनपछि दशैँ बहिष्कार आन्दोलन चलाएका थिए । त्यसपछि हिन्दूसँग जोडिएका हरेक पक्षको विरोध तथा बहिष्कार गर्नु नै असली आदिवासी/मूलबासी हुनु भन्ने गलत मान्यता स्थापित भएको छ । त्यसैको शिकार भएपछि आफ्नै चाडपर्वहरू पनि हिन्दू भनिएकाहरूलाई जबरजस्त एकलौटी रूपमा जिम्मा लगाउने कार्य भएका छन् । वास्तवमा ती सबै कार्य भनेका कुलङ्घारिताको प्रमाण हो । आफ्नैलाई चिन्न नसक्नुको परिणाम हो । अब कल्चरल जिनोलोजीको गहिरो अध्ययन टड्कारो भएको छ ।

५. दशैँ, तिहार र नश्लीय सम्बन्ध
      दशैँ र तिहार लगायतका प्रचलित चाडपर्वलाई लिएर नेपालमा नश्लीय दूरी व्यापक रूपमा बढ्दै गइरहेको छ । यो साह्रै  खतरनाक बन्दैछ । समयमा नै यसलाई समभावको सहित समापनको विकल्प छैन । यही मनसायका साथ केही चिरफार गर्ने प्रयास यो लेखमा यसरी गरिएको छ ।

क) हत्यापछि अल्मलिएको मानसिकता
      दशैँ र तिहार जस्ता चाड हिन्दूकै हो । ती चाडकै समयमा आदिवासीका अर्कै चाड पनि प्रचलित छन् । आदिवासीका चाड हिन्दूहरू यता आइपुग्नु भन्दा हजारौं वर्षअघिदेखि प्रचिलत थिए । मानवशास्त्रीय मान्यतानुसार मानवसभ्यतालाई करीब दश हजार वर्षको हाराहारी मानिएको छ । त्यसो त आदिवासीका चाड त्यसैको हाराहारीबाटै प्रचलित थिए । त्यतिखेर हिन्दूहरू रूसको बोल्गा नदीको माथ्लो तटीय क्षेत्रमा जङ्गली अवस्थामा नै थिए । यो तथ्यको खुलासा राहुल सांस्कृत्यायनले 'बोल्गादेखि गङ्गा' नामक पुस्तकको पहिलो परिच्छेदमा गरेका छन् ।

      यसप्रकार तामाङ लगायतका आदिवासीले यहाँ म्हेनिङ र डस्यक्के शुरू गरेका बेला अहिलेका हिन्दूहरू भारतमा आइपुगेकै थिएनन् । तिनका वेदका आयु बढीमा ३५ सय वर्ष अघिको मात्रै हो । हिन्दू शब्दको उत्पत्ति त झन् हिँजोको भन्दा हुन्छ । यसप्रकार हिन्दूलाई तल झार्न खोजेको अर्थमा नबुझ्नु होला । यति मात्रै भन्न खोजेको कि- यी दुवै चाडहरू हिन्दूको उदय हुनुभन्दा धेरैअघिबाट प्रचलित थियो । मगरले लिगलिगकोटमा राजा छान्थे । थारुले सखिया नाच्थे । तामाङ (गुरुङ, थकाली र ह्योल्मो समेत)ले म्हेनिङ वा सोही समान पर्वका रूपमा मान्थे । पछि हिन्दू राज्य बन्यो । हिन्दू राज्यसत्ता भन्नेले आदिवासीका भूमिको अतिरिक्त चाडपर्वहरूसमेत खोसे । सबैमाथि हिन्दू लेप लगाए । अन्ततः यहीँका भूमिपुत्रले आफ्नै पर्व अरूले लगेर अर्कैब नाएपछि हाम्रो बाट खोसेर नयाँ स्वरूप दिएका भनेर चिन्नै सकेनन् । अहिले आएर आफ्ना पुर्खाका रगतको टीका लगाएकाले दशैँ मान्नु हुँदैन भन्न थालेका छन् । हत्या, मृत्यु र पर्वका बारेमा के त भन्ने सम्बन्धमा तल बौद्ध र दीपदानसम्बन्धी अनुच्छेदमा हेर्नु होला ।

      वास्तविकता चाहिँ आदिवासीका पुर्खाहरू म्हेनिङ लगायतका पर्व मनाइरहेका बेला हिन्दूले छलकपट गरी सिध्याएका थिए । हुन सक्छ- आफ्ना पुर्खा मारिएकाले शोक पर्न गयो । त्यसपछि म्हेनिङ जस्ता चाड कतै कतै मनाउन छोडे । सत्ताले चाहिँ तामाङले म्हेनिङ नमान्नुको अर्थ शोकको कारण नभई राज्यसत्तासँगको असन्तुष्टि भनेर बुझे । त्यसपछि जबरजस्त मनाउनै पर्ने भनेर उर्दी जारी गर्‍यो । नमान्नेमाथि आक्रमण पनि गर्‍यो । आजसम्म आइपुग्दा सबै कुरा उल्टापुल्टा भएका छन् । कुन सही र कुन गलत भनेर बुझ्नै गाह्रो भएको छ ।

       त्यसमाथि हिन्दू राज्यसत्ताले हरेक कुरालाई आफ्नो मात्रै भन्दै आएको छ; जस्तैः ओम शब्दकै प्रयोगको आधारमा ओमकार भन्दैछन् । ओमकार जति सबै एकै हुन् भने राजनीतिक पार्टीहरू सबैलाई एकै भन्नुपर्ने हुन्छ । त्यसो त हुनै सक्तैन । पार्टीहरूबीच काटाकाट र मारामार छ । हिन्दूको ऊँ हो भने अन्यको ओम हो । यिनका अर्थ फरक छन् । जनै र कन्दनी कहिलै एकै हुन सक्तैन । हुन त दुवै धागोको डोरो त हुन् । त्यसैले अब कल्चरल जिनोलोजीको अध्ययन बिना यस्ता विषयमाथि बहस वा कलम चलाउनु भनेको आफ्नै मुटुमा तीर रोप्नु वा रोप्न लगाउनु जस्तै घातक हुनेछ ।

ख) चाडपर्व र सत्ता
      हिन्दूसत्ताले सबै मेरै भन्नु र त्यस्तै व्यवहार गर्नुको एकमात्रै कारण राजनीतिक सत्ता थियो । हरेक चाडपर्वले आफ्नो सत्ता बनाएका थिए । तिनै सत्ताका जोडफलबाट राज्यसत्ता बन्थे । हिन्दूहरूले सोही रीतसँग हिन्दू राज्यसत्ताको निर्माण गरे तर आदिवासी र जनजातिहरू अन्यौलताको भूमरीमै फसिरहे । अब दशैँ र तिहार कसरी हिन्दूका हुन् या होइनन् ? तिनका समान वा काउण्टरमा खडा आदिवासीका प्राचीन पर्वहरू के के हुन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी भइसकेको छ ।

ग) आदिवासीका पर्व
       दशैँ भनेको दशमी तिथिबाट बनेको हो । त्यो त प्रत्येक महिनामा दोहोरिइरहन्छ । मगर राष्ट्रको दाबी के देखिएको छ भने- मगरले डस्यक्के मनाउँथे । त्यसैलाई अपहरण गरी हिन्दूकरण गर्दाखेरि दशैँ भएको थियो । यसको प्रमाण लिगलिगकोटले छर्लङ्ग पारिरहेको छ । थारुको सखिया र नेवारको मोहनी पनि दशैँकै बेला पर्छन् । यसको अर्थ तिनीहरूले दशैँ मनाएका होइनन् । दशैँ आउनुभन्दा हजारौं वर्षअघिबाटै सखिया र मोहनी प्रचलित थिए । हिन्दूका लागि दशैँ र तिहार फरक पर्वहरू हुन् तर नेवार राष्ट्रका लागि एउटै पर्वको प्रसङ्ग हुन् । मगर, गुरुङ र तामाङको लागि कृषि तथा पशुपालन पेशासँग सम्बन्धित एकै पर्वको शृङ्खला हुन् । पछिल्लो समयमा हिन्दूसत्ताले हाम्रो सर्वस्व खोसे । त्यतिखेर तिनीहरूसँग केही थिएन । हामीबाटै सिके । हाम्रै चिजलाई नयाँ जलप लगाए । त्यसपछि हामी अल्मलियौं । दशैँ र तिहार लगायतका पर्वहरू तिनैका उदाहरण हुन् ।

       हिन्दूहरू वास्तवमा भारत हुँदै नेपाल आएका आर्य हुन् । तिनीहरू ब्राह्मणहरू हुन् । त्यसैलाई नेपालमा ब्राह्मणवाद भनेका हुन् । अहिले खसानका खसले पनि आफूहरू आर्य र हिन्दू होइन रहेछौं भन्ने तथ्यको भेउ पाउन थालेका छन् । त्यसपछि डा. सुरेन्द्र के.सी.ज्यूले त एउटा अन्तरवार्ता नै दिनुभएको छ । विषयगत कुरा गर्दा- हिन्दूको भनिएको दशैँ र तिहार पनि भारतबाट आएको भन्नुपर्ने हुन्छ । भारतका हिन्दूले मनाएका दशहरा र दीपावली/त्योहारलाई हेर्ने हो भने नेपालमा प्रचलित दशैँ र तिहारसँग खासै तालमेल देखिँदैन ।

घ) दशैँका अमिल्दा प्रचलन
        बडादशैँ/विजयादशमी भन्ने गरेका पर्वलाई अशौजे/शरदीय दशैँ पनि भन्छन् । त्यसो त चैतेदशैँ (रामनवमी)को प्रसङ्ग पनि आउँछ । ''चैतको दशैँ अशौजमा सर्नु ! रावणद्वारा सीता पनि अपहरणमा पर्नु !! रामलाई जस्तो अप्ठेरो त कसैलाई नपरोस्'' भन्ने गरेका पनि पाउँछौं । यो भनाईले दशैँलाई अन्यौल बनाएको देखिन्छ । शरदीय दशैँलाई हिन्दूले देवी र दानवका लडाईँ प्रसङ्गसँग जोडेर प्रस्तुत् गर्दै आएका छन् । यो पूर्णतः युद्धको कुरा हो ।

        यद्यपि, जमरा, फूलपाती, दही र अक्षताको टीकाले भने कृषितिर इङ्कित गरिरहेको स्पष्ट छ । युद्धको मात्रै भएको भए बलि चढाएका प्राणीको रगतको टीका वा रातो रङको मात्रै प्रयोग हुनुपर्थ्यो । कसरी अक्षता र दही जोडिन आइपुग्यो ? त्यसो त होलिका दहनपछि जस्तो रङको पर्व हुनुपर्थ्यो दशैँ । यसप्रकार दशैँ सम्बन्धी विश्वास तथा संस्कृतिगत पाटोका बीचमा नै तालमेल मिलेको देखिएन ।

ङ) भारतीय हिन्दू दीपावली
       तिहारलाई हेर्ने हो भने- त्योहारबाट तिहार भएको भन्ने गर्दछन् । त्यसैलाई दीपावली पनि भन्ने गरेका छन् । दीपावली भन्नाले दीप, प्रकाश तथा फूलका पर्व पनि भन्ने देखिन्छ । यसको कारण वा पक्ष खोज्नु जरुरी छ । भारतीय हिन्दू र नेपाली हिन्दूका बीच तिहार वा दीपावली जे भनेपनि एउटै पर्व हो तर यी दुर्इका बीच विश्वास र मान्यतागत रूपमा व्यापक अन्तर देखिएको छ । जुन अति संवेदनशील, चुनौतीपूर्ण अनि शङ्कास्पद बनेको छ । यहीनेर गम्भीर रूपमा घोत्लिएर हेर्ने हो भने तथ्य बाहिर आउनेछ ।

      भारतीय मान्यता अनुसार रामले रावण मारेर अयोध्या पर्केपछि उनको स्वागतमा दीपावली गरेका थिए । यो मान्यता झूट भन्ने भारतभरि प्रचारप्रसार भइरहेको छ । रामसँग सम्बन्धित ग्रन्थ (रामचरित मानस लगायत)मा यो प्रसङ्ग कतै पाइएको छैन । रावणको बध गरी फर्केको समय पनि यो होइन । कुन महिना भन्ने सवालमा कोहीले फागुन त कोहीले चैत अनि कोहीले बैशाखमा हो भनेका छन् । त्यसैले कात्तिकमा भन्नु त हास्यस्प्रद हुन्छ । अर्को तथ्य राम अयोध्यामा दिउँसो पुगेका थिए । त्यसैले दीप बाल्नुपर्ने आवश्यकता नै थिएन । दीपावलीमा रामको कुनै पूजा पनि हुँदैन । यद्यपि, भारतमा रामकै स्वागतमा दीपावली शुरू गरेका भन्ने मत बढी प्रचलित छ । रामकै स्वागतमा दीपावली गर्ने भए किन बाँदर वा ढेँडुको कुरा आएन । किन काग, कुकुर, गाई, गोबर्धन र लक्ष्मीको पूजन गर्छन् । किन यमराजको प्रसङ्ग जोड्छन् ? मान्यता र अभ्यासका बीच यत्रो फरक कसरी ?

च) भारतीय बौद्धधर्मावलम्बी र दीपदानोत्सव
      भारतीय बहुजनहरू तथा बौद्धहरूले भने दीपावली भन्दापनि ''दीपदान पर्व'' भनेका छन् । दीपको अर्थ प्रकाश र दान भन्नाले दान गर्नु वा दिनु हो । भावार्थमा अध्यारो नाशक उज्यालो प्रकाश अर्थात् बौद्ध ज्ञान दान गर्नु वा दिनु नै दीपदान उत्सव हो । त्यसको अनेक प्रमाणहरू जुटेका छन् । सम्राट अशोकदेखि बुद्ध, मौदगल्यानका प्रसङ्ग पनि उप्काएका छन् । बौद्ध मत अनुसार दीपावली पूर्णतः बौद्धदर्शन अनुसारको दीपदान पर्व हो । उनीहरूका अनुसार सिद्धार्थ गौतम दरबार छोडेर सत्र वर्षपछि पुनः कपिलबस्तु पुगेका थिए तर दरबारमा गएनन् । लिन पठाइएका मान्छेहरू पनि बुद्धलाई दरबार ल्याउनुको सट्टा आफैँ भिक्षु भएर बसेछन् । अन्ततः दरबारमा पुर्‍याउन सफल भएकोले बुद्धको स्वागतमा दीपदान गरेका थिए ।

      त्यसपछिको एक संयोग यो पनि परेको थियो- कात्तिक अमावश्यकै दिन अर्थात् दीपदानोत्सवकै दिन बुद्धको प्रियपात्र मौदगल्याणको हत्या भएको थियो । अति नै विभत्स हत्यापछि दीपदानोत्सव के गर्ने भएको थियो । बुद्धले नै कुनै एक व्यक्तिको हत्यामा शोक गर्न आवश्यक छैन । त्यसैले दीपदान जस्तो पुण्यकार्यलाई निरन्तरता दिनु भन्ने आशय व्यक्त गर्नु भएपछि दीपदानोत्सवले निरन्तरता प्राप्त गरेको थियो ।

       अर्को संयोग पनि पाइएको छ- चक्रवर्ती स्रमाट अशोकले म्हेनिङको दशमी (हिन्दूको दशैँको दशमी)मा युद्ध त्यागेको घोषणा गरी बौद्धमा प्रवेश गरेका थिए । त्यसपछि उनले बौद्धधर्म सम्बन्धी ८४ हजार धर्मस्कन्धका निर्माण गर्न लगाएका थिए । त्यसक्रममा विहारहरू, इनार, बाटोहरू समेत बनाएका थिए । अस्पताल बनाए; जहाँ मानवको अतिरिक्त पशुका लागि समेत अस्पताल निर्माण गरेका भन्ने दाबी गरेका छन् । ती निर्मित सबै ८४ हजार धर्मस्कन्धका एकसाथ दीपदानोत्सवको अवसरमा समुद्घाटन गराएका थिए । त्यसैले दीपदान उत्सव हो । बौद्धले त्यसरी दीपदान उत्सव शुरू गर्दा हिन्दूको कुनै दीपावली थिएन । पछि बौद्धले गरेका देखेपछि मात्रै आफैँ हिन्दूले भनेजस्तो हुँदै होइन । उनीहरू यम, गाई, गोबर्धन र लक्ष्मीको पूजन गर्दैनन् ।

छ) हिन्दू नवस्येष्टि यज्ञ
       डा. सुरेन्द्र कुमार शर्मा 'अज्ञात'ले ''क्या बालू की भीत पर खडा है हिंदू धर्म ?' नामक पुस्तकमा लेखेका छन् । उनका अनुसार ८ औं सदीदेखि २ सय इ.पू.मा रचित ग्रह्यसुत्र एकदमै महत्त्वपूर्ण मानिन्छ । उक्त सुत्रमा दीपावलीको कुनै प्रसङ्ग नै छैन । उक्त सुत्रमा 'नवस्येष्टि (नयाँ फसलको यज्ञ) भन्ने चाहिँ छ । हिन्दू मान्यता अनुसार नयाँ फसल पहिले देउतालाई नचढाइकन मान्छेले खान हुँदैन । खाएमा अनेक बात लाग्छ । त्यसैले पहिले पुरोहितको संलग्नतामा यज्ञ गर्न जरुरी छ । त्यसलाई नै डा. शर्माले पुरोहितको लागि रोटीको व्यवस्था गरेको आरोप लगाएका छन् । अर्कोतिर दीपावलीको अवसरमा नवस्येष्टि यज्ञ गर्ने प्रचलन पनि पाइएको छैन ।

       नयाँ फसल देउतालाई चढाउने भन्नाले माथि उल्लेखित तामाङ बोन तथा लामा मान्यताको नजिक मान्न सकिन्छ । यस्तै कारण हिन्दूलाई बोनको सुधारिएको स्वरूप भन्ने गरेको हुँ । नेपाली प्रसङ्गमा तिहारलाई हेर्दा- लक्ष्मीसँग विशेष जोड्ने गरेका पाइन्छन् । लक्ष्मीको हातबाट सिक्का (धन) वर्षा हुने विश्वास गरेका पाइन्छन् । यहीनेर प्रश्न उठ्छ कि- सिक्काको प्रचलन कहिलेदेखि भएको थियो ? त्यस्तैगरी लक्ष्मी भित्र्याउनका लागि घरमा दीपावली गर्ने प्रचलन चलाएका छन् । स्मरणीय तथ्य- लक्ष्मीको बहान त उल्लू हो । उल्लूले अँध्यारोमा मात्रै देख्न सक्छ । उज्यालोमा देख्न सक्तैन । त्यसो हो भने, उज्यालोमा देख्नै नसक्ने लक्ष्मी कसरी दीपावली गरेको स्थानमा प्रवेश गर्न सक्छिन् त ? यो प्रश्न डा. शर्माले पुस्तकमा सप्रसङ्ग उठाउनु भएको छ ।

६. दीपदानोत्सवदेखि बेखबर नेपाली बौद्ध समुदाय
     उदेक लाग्छ- भारतीय बौद्धले दीपावलीलाई बौद्ध मान्यताअनुरूपको दीपदान पर्व भनेर स-प्रमाण दाबी गरिरहँदासमेत नेपाली बुद्धिष्ट भन्नेहरूले पत्तै पाएका छैनन् । म्हेनिङ तथा तिहार/तिवारको बेला बौद्ध सांस्कृतिक पक्षहरू के कस्ता छन् भन्ने बारे यहाँका बौद्धहरू कसरी बेखबर रहे भन्ने पनि बढो जिज्ञासाको विषय बनेको छ । यतिखेर नेपाली बौद्धहरू बौद्धदर्शन तथा संस्कृतिको अवलम्बन भन्दापनि हिन्दूलाई तथानाम गाली गर्नमा व्यस्त देखिएका छन् । म्हेनिङको अवसरमा ङोवा गर्ने, डोल्मोको पूजन, म्हरमेनसङ्गे, सङ्गेमेनला, बुद्ध भगवान वर्षावासपछि फर्कनु भएको अवसर अनि अशोक राजाले हतियारमाथि विजयी प्राप्त गरी बौद्ध बनेको मान्यता र विश्वासदेखि नेपाली बौद्धहरू दैनदिन अनभिज्ञ हुनेक्रम जारी रहेको छ ।

७. बलि राजाको प्रसङ्ग
      तिहारमा भैलीदेखि देउसी खेल्नेहरूले बलिराजाले पठाएका भन्न छोडेका छैनन् । भैली खेल्नेक्रममा कतिले चाहिँ भैलीराम पनि भन्छन् । भैलीपछि राम नाम आयो भन्ने आधारमा भारतमा दीपावलीलाई रामसँग जोडेका हुन सक्छ । यद्यपि, रामसँग सम्बन्धित थिएन भन्ने माथि नै उल्लेख गरिसकेको छ । अब बलि राजातिर लागौं । बलि नामलाई नै बलि राजा र बलिहाङ राजा भन्ने गरेका पाइन्छन् । हिन्दूले बलि राजा भन्ने तर मगर तथा रार्इ लिम्बुहरूले बलिहाङ आफ्नो राजा मानेका छन् । यो देखेर कतिपय मानिसमा अन्यौलता थोपरिन पुगेको देखिन्छ । अन्यौलता थोपरिनुको मुख्य कारण चाहिँ विविधता भएर होइन । विविधता किन हुन्छ र त्यो भनेको के हो भन्ने बुझ्न नसक्नु हो ।

       बुझ्नैपर्ने- संसारमा विविधता हुन्छन् । विविधता नै संसार हो । एक मात्रै भएको भए मान्छे मात्रै वा केही प्राणी वा तत्त्व मात्रै रहनुपर्थ्यो । त्यसैले अहिले युनिभर्सको सट्टा प्ल्युरिभर्स शब्दको प्रयोग उचित मान्न थालेका छन् । यहाँ बलि राजा भन्ने बित्तिकै कुनै एक जाति वा समुदायको मात्रै हुनुपर्छ भन्ने सोच पूर्णतः गलत छ । यो मान्यता भनेको सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने मतबाट जानअञ्जानमा प्रभावित भएको हो । देशलाई प्रदेशको नाममा काँक्रो चिरेझैँ चिर्ने भए भन्दै रुनेका रोदन हो । विविधता बिना एकताको कुरै आउँदैन ।

       त्यसैले, बलि वा बलिहाङ भन्ने बित्तिकै एकै जना हुनुपर्छ भन्ने छैन । त्यस्ता एउटै नाम भएका मान्छे वा राजा विभिन्न समुदायमा फरक फरक हुन सक्छन् । एकै समुदाय वा वंशमा पनि एकपछि अर्कोसँग नाम मिल्नु हुँदैन वा मिलेका हुँदैन भन्ने हुँदैन । शाह वंशमै पृथ्वीनारायणकै एक सन्तति पछि पृथ्वी विक्रम आएका थिए । हिन्दूले भन्ने मनु वा बौद्धको मञ्जुश्री अनि तामाङको म्हिए रेञ्जेनहरू एकजना मात्रै थिएनन् । तिनीहरू धेरै हुन्छन् । कतिपय राजसंस्थाहरूमा एकै नामका प्रथमदेखि चौँधौं पनि पाइन्छन् ।

       त्यसकारण हिन्दूको बलि राजा हुँदैमा मगर वा किरातका हुनुहुँदैन भन्नु युक्तिसङ्गत हुँदैन । एउटा अलिक फरक अर्को उदाहरण पनि हेरौं । तिवारको प्रसङ्गमा नेवार राष्ट्रले शङ्खधर साख्वालाई राष्ट्रिय विभूतिकै रूपमा मान्दै आएका छन् । नेपाल सम्वत् प्रचलित छँदैछ । तिनै शङ्खधर साख्वा नेवार राष्ट्रको लागि नेवार हो तर तामाङले भने शङ्खुधर थिङ भन्ने गरेका छन् । हाम्रो तामाङ म्हेमेदङमा हेर्ने हो भने 'धर' जोडिएका अनेक म्हेमेका नाम आउँछन् । 'धर' भनेको अहिले बहादुर, लाल, मान, सिं, प्रसाद र राज भनेजस्तै भन्ने देखिन्छ ।

८. यमपञ्चक
      यमपञ्चकको प्रसङ्ग विशेषतः नेपाली हिन्दूको भन्न सकिन्छ । तिनीहरू यमराज र तिनकी बहिनी यमुनाको प्रसङ्ग जोडेर तिहारलाई पूर्णता दिन्छन् । जुन प्रसङ्ग तिहारमा गरिने विधिविधान वा प्रचलनसँग हुनुपर्ने जति नजिकको देखिँदैन । यम पञ्चकमा यमराजका दूतको रूपमा काग र कुकुरको पनि पूजन हुन्छ । बीचमा गाई, गोरु, गोबर्धन र लक्ष्मीको प्रसङ्ग पनि जोड्छन् । यमसँग गाई, गोरु, गोबर्धन र लक्ष्मीको सम्बन्ध के भन्ने स्पष्ट हुँदैन । कागलाई यमदूत त भन्छन् तर कागले यमको मात्रै सन्देश ल्याउँदैन । शुभ र अशुभ दुवै खालका सन्देश ल्याउने नेपाली मान्यता देखिन्छ ।

       भारतमा पनि यमराजको पूजनले अकाल मृत्यु टर्ने विश्वास यदाकदा पाइएका छन् । त्यस सम्बन्धमा दुर्इवटा मान्यता विद्यमान छन् । ती दुवै मान्यताअनुसार कुनै एकजना राजकुमारको कहानी आउँछ । एउटामा राजकुमारको विवाह भएको चौथो दिन मृत्यु भएको र अर्कोमा चौथो दिनसम्म पनि नवदुलहीले लक्ष्मीको पूजन गरेकीले यमराजले लान नसकेको भन्ने विश्वास पाइन्छ । नेपालमा पनि यमराजको पूजनबाट अकाल मृत्यु टर्ने मान्यता रहेको छ ।

        वास्तवमा अकाल मृत्यु भनेर प्रमाणित गर्न सकिन्न । बिना काल केही हुँदैन । कालसँगै मृत्यु पनि आउने तथ्य हो । ठिकै छ, अकाल मृत्युबाट जोगिन यमको पूजा गर्नेलाई पनि एकैक्षणलाई स्वीकारौं । यहाँ प्रश्न उठ्छ कि- मृत्युको समय भइसकेकालाई पनि आफ्नो पूजन गर्‍यो वा भक्त बन्यो भन्दैमा मृत्युदेखि छूट दिने अख्यियारी यमराजलाई छ र ? यदि छ भने अस्पताल लानुको सट्टा यमराजको पूजन गरेर मानिस सबै अमर हुन्थे होलान् नि । यस्तो प्रकारको इरर (समस्या) किन देखापर्छन् त ? वास्तवमा टालटुले प्रवृत्तिले यस्तो समस्यामा फसाउने हो ।

क) कृषिमय पर्व
       मेरो दाबी- म्हेनिङ र सोङराती वा दशैँ र तिहार जे भनेपनि अन्ततः यिनीहरू कृषिमय चाड हुन् । यी दुवै माथि उल्लेख गरिएजसरी पशुपालन तथा खर्कप्रथासँग सम्बन्धित छन् । हिमाली भेगमा पालिने भनेको गाई गोरु (चौँरी) नै हुन् । माथिल्लो उचाई जहाँ दाउरा समेत पाइँदैन । त्यस्ता स्थानमा गोबरको महत्त्व हुने नै भयो । अन्न नहुनाले कि मासु कि दूध मात्रै मनुष्यको भोक मेट्ने माध्यम बन्यो ।

      अर्को पक्ष खर्कप्रथाका हिमाली आदिवासी(तामाङ र मगर लगायत)ले तिवार कसरी मनाउँछन् भनेर हेर्न सकिन्छ । तामाङले तिहारमा यमराजको पूजा गर्दैनन् । तिनीहरूले त जङ्गलमा पुगेका बेला आफ्ना दाजुभाइहरू मारिन सक्ने हुनाले नमारिउन् भन्ने उद्देश्यका साथ यमराजको टाउको फुटाउँछन् । त्यसैका प्रतीक स्वरूप ओखर वा ओखर नपाइने स्थानमा गोलभेँडा भएपनि फुटाउँछन् । पानी तथा तेलको रेखा लगाउँछन् । त्यसरी रेखा लगाउने प्रचलन भनेको बोम्बोको खड्को तार्ने प्रक्रियाबाट लिएको हो । बोम्बोमा पाँचदेखि नौ थरीसम्मका रङले बिमारीलाई घेरेर सुरक्षा कवज निर्माण गर्दछन् । बाटो/दोबाटामा पुर्‍याएर नकारात्मक शक्तिलाई भगाएपछि तिनै रङहरूले बाटो छेक्छन् । निधारमा तिनै रङका टीका लगाउनुको अर्थ पनि व्यक्तिको सुरक्षाकवज स्थापना गर्नु हो । त्यसपछि पनि अझै सुरक्षाको लागि यमराजको टाउको नै फोड्छन् ।

ख) बिन्ति
      यसप्रकार हिन्दू पर्व तिहारमाथि प्रहार गर्न खोजेको होइन । समस्या देखिएकाले र अन्यौलता फैलिएकाले चिरफार गरी तथ्य खोज्ने प्रयास मात्रै गरेको हो । त्यसैले हिन्दूले यमपञ्चक वा तिहार धूमधामसँग मनाउनु पर्छ । त्यसो भन्दैमा अहिन्दू समुदायले हिन्दूको मात्रै चाड भन्नुको तुक छैन । किरातले सयपत्री फूलसँग तिवारलाई जोड्न छोड्नु हुँदैन । सयपत्रीको प्रसङ्ग तामाङले म्हेनिङमा नै जोड्छन् । त्यसैले गोठमा वा भनौं परदेश जाने माइतीलाई सुरक्षाको लागि तिवार भनेर तामाङले मान्नुलाई अनुचित वा हिन्दूको चाड मनाएको भन्नु हुँदैन ।

      सङ्गेमेनला भनेर औषधीसम्बन्धी बुद्धलाई तामाङले म्हेनिङमा सम्झना गरिसकेका छन् । त्यतिखेर बाँकी राखेकाले तिहारमा सम्झनु उचित हो । धनवन्तरीको सम्झना, पूजन वा चर्चा आवश्यक छ । तामाङ समुदाय बोन र बौद्ध दुवैमा रहेकोले बौद्धमार्गीले दीपदानको रूपमा भव्यताका साथ मनाउँदैमा मै जान्नु हुँ भन्ने कोही तामाङले फेसबूक लगायतमा आएर रुनुको अर्थ छैन । जो-जसले जे भनेर मनाएपनि सम्बन्धित समुदायको नैसर्गिक पक्ष हो । अन्यले हस्तक्षेप गर्नु हुँदैन । भन्छन् नि- सके सफा गर्नु; नसके फोहोर नगर्नु ! अर्थात् सके अरूलाई सम्मान गर्नु; नसके अपमान पनि नगर्नु । यसैमा सबैको भलाई हुन्छ ।

ग) मिलेर अघि बढौं
       बलिहाङ हामी किरल्पा (किराती) समुदायकै हो । मगरातमा पनि बलिहाङ नामक प्रतापी राजा हुनुहुन्थ्यो । उहाँले देखाउनु भएको बाटो छोड्नु भनेको कुलङ्घार बन्नु हो । मगरको राजा बलिहाङ भन्दैमा रार्इ लिम्बुहरूले चाहिँ हाम्रा बलिहाङ राजा मगरले खोस्यो भनेर रुनु पर्दैन । मगर र रार्इ लिम्बुका बलिहाङ अलग अलग राजा हुन् । त्यसैले बलिहाङ तङ्नामलाई आफ्नो पुर्खाले थमाएका नासो सम्झेर जोगाउन सक्नुपर्छ । त्यस्तैगरी हिन्दूहरूका बलि राजा बेग्लै राजा हुनुहुन्थ्यो । तिहारमा बलिराजाले पठाएका हुनाले देउसी भैली खेल्न नछोड्नुस् । नेवारले पनि शङ्खधर साख्वालाई नबिर्सौं । म्हपूजा नछोडौं । मोहनीसँग जोडिएका बाँकी संस्कृति यतिखेर पूरा गर्नुस् । हो; संस्कृतिमा अमिल्दा पक्ष छन् भने पहिचान गरौं । सकेसम्म मिलाएर लैजाऔं । आपसमा समभावको विकास गरौं । तिवार, तिहार (यमपञ्चक, स्वाँती चाड, लक्ष्मीपूजा, भाइटीका), बलिहाङ तङ्नाम साथै दीपदान उत्सवलाई सम्पूर्ण जातजाति, समुदाय तथा राष्ट्रहरूका बीच समभाव र सह-अस्तित्वको मार्गको रूपमा विकास गरौं । न्हुँदया भिन्तुना । सेवारो । झोर्ले/जेरो । नमस्कार ।
१० कात्तिक '७६
चाबहिल

Saturday, October 26, 2019

हाम्रो राज्यसत्ता नै हाम्रो होइन ?



एउटा अन्तरवार्तामा युग पाठकज्यूले भन्नुभएको रहेछ- 'हाम्रो राज्यसत्ता नै हाम्रो होइन ।' यही अन्तरवार्तालाई प्रकाशन गर्नेक्रममा शिलापत्रडटकमले भने 'यो राज्यसत्ता नै हाम्रो होइन' शीर्षक जुराएको रहेछ । शीर्षक देख्दै झसङ्ग भएँछु । मानौं बाहिर गेटमा आएर कसैले बेलको स्वीच थिज्दैछ ।

धेरै साथीहरू छन् । अग्रजहरू पनि छन् । तिनीहरू मदेखि हच्किन्छन्; तर्सिन्छन् । मानौं पड्किनै लागेको टाइमबम काखमा आइपरेको छ । या त भनौं बिनाकामको झुसिलकिरोले खेद्न थालेको छ । कत्तिले त जुत्ताको माला लगाइदिन्छु समेत भन्न पछि परेका छैनन् । एकाध अग्रज छन्- केही कुरा अमिल्दो/अल्टर जस्तो लाग्यो भने खोजराज जस्तो भन्छन् ।

मानौं खोजराज भनेको खुम्रेकिराको पनि उत्तानो परेर घस्रने जातको प्राणी हो । प्रायः खुम्रेकिरा हातखुट्टाको प्रयोग गर्दै हिँड्छन् । एकप्रजातिको खुम्रे; त्यसको पनि हातखुट्टा हुन्छन् तर तिनीहरू त्यत्तिसम्मन् अल्टर स्वभावको हुन्छन्; जो आफ्नो भएका हातखुट्टाका समेत प्रयोग गर्दैनन् । केही नपाएर उत्तानो पर्छन् र जबरजस्त ढाँड रगडेर घिस्रन्छन् । भएको छोडेर नभएको खोजेपछि अरू के भन्नु र ? नाम मात्रै खोजराज काम चाहिँ अल्टर कुराले जसलाई भेटे पनि घोचराज ! यो एउटा प्रसङ्ग मात्रै भो ।

प्रसङ्ग युग पाठकज्यूको 'हाम्रो राज्यसत्ता नै हाम्रो होइन'मा छु । हामीले राज्यसत्ता त बनाएका हुन्छौं । हाल पनि छँदैछ । हामीले बनाएका राज्यसत्ताको रिमोट विदेशी र विदेशी डलरसँग छ । पाठकज्यूको तर्क यस्तै पाइयो । यहीनेर शीर्षकमा चाहिँ 'यो राज्यसत्ता नै हाम्रो होइन' जुराएको रहेछ । म पनि यही शीर्षकसँग सहमत छु । मौका पाउनसाथ, म पनि 'यो राज्यसत्ता नै हाम्रो होइन । त्यसैले मेरो होइन । तपाईँको पनि होइन' भन्दै आएको छु । यो पनि एउटा बुँदा हो; जसले केही अग्रज तथा दौँतरीका नजरमा मलाई उत्तानो परेर घस्रने खुम्रेकिरो बनाउँदै आएको छ । 

पाठकज्यूको तर्कमा मेरो असहमति छैन । यद्यपि, त्यतिमात्रै पनि होइन भन्ने चाहिँ छ । हो; यो राज्यसत्ता भनेको त विदेशीले डब्लुडब्लुएफ खेल्ने ठाउँ हो भन्दा फरक पर्दैन । यसको रिमोट विदेशीका हातमा छ । डलर बिना यसले श्वास तान्न सक्तैन । मानौं आइसियुमा रहेको बिमारी हो नेपाली राज्यसत्ता ! नाकमा लगाइदिएको अक्सिजन हो डलर । यसै भन्दा देश, सार्वभौमसत्ता, राष्ट्र र राष्ट्रियता विरोधी कपुत भन्ने आरोप लगाउन पनि सक्छन् ।

भन्छन्; फ्रान्सेली क्रान्तिपछि स्वतन्त्रता भन्ने बुँदालाई लिएर उदरवादीहरू उदाए । समानताको बुँदाले मार्क्सवादी (साम्यवादी)लाई जन्मायो । भ्रातृत्व/डिग्निटीले इनडिजिनिजम् (पहिचानवादी)लाई जन्माएको छ । उदारवाद भन्छ, अन्ततः कर्पोरट हाउसहरूले आवश्यक सामग्रीको उत्पादन गरिदिने छन् । त्यसपछि समाज स्टेटलेस चरणमा प्रवेश गर्नेछ । मार्क्सवाद भन्छ, सर्वहारावर्गको अधिनायकत्वसँग समाजमा रहेका स्टेटहरू स्वतः एक हुनेछ र साम्यवादमा प्रवेश गर्नेछ ।

यहाँ उदारवाद हुन् या मार्क्सवाद दुवैका अन्तिम लक्ष्य चाहिँ स्टेटलेस समाज नै रहेछन् । जसको अन्तिम लक्ष्य स्टेटलेस छ अनि तिनैले देश र देशत्वलाई नै राष्ट्र वा राष्ट्रियता अनि सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताको पक्षमा सपथ खान्छन् भने त्यस्तालाई नकचरो नभनी अरू के भन्ने ? त्यसैले खोजराज गोलेलाई अराष्ट्रिय तत्त्व भनेछन् वा भन्ने छन् भन्दैमा छुमलतब !

प्रसङ्ग 'यो राज्यसत्ता नै हाम्रो होइन' हो । कथित नेपाली राज्यसत्तालाई म चाहिँ कम्तीमा पनि 'हाम्रो' भन्दिनँ । भन्नु हुँदैन भन्छु किनकी यसका लागि आह्वान गरिएका चुनावहरूमा सम्पूर्ण नेपालीले भाग लिएका थिएनन् । उमेरका कारण कतिलाई भोट दिन दिएनन् । कोही विदेशमा रहेकाले भोट दिन पाएनन् । कोही ओछ्यानमा रोग वा मृत्युसँग लड्दै थिए । कोहीले बहिष्कार नै भने । कोहीले चाहेर वा नचाहेरै भोट दिएनन् । यसरी हेर्दा- भोट दिएकाका भन्दा नदिएकाका सङ्ख्या धेरै छ । त्यसैले भोट दिएकाका सरकार र सत्ता हो । अन्यको पनि हो भन्नुको कुनै तुक छैन ।

मेरै घरको सदस्य सङ्ख्या छ जना हो । एकजनालाई नाबालक भनेर भोट दिनबाट वञ्चित गरिसकेको थियो । बाँकी पाँच जनाले भोट दिन पाउनेछौ भनेका थिए । पाँचजनामध्ये मेरो बुवा वैदेशिक रोजगारीका क्रममा हुनुहुन्थ्यो । म काठमाडौंमा चाउरे जीवन व्यतित् गर्नमै व्यस्त ! भाइ शिक्षक पेशाको बहानामा यतै रल्लिइरह्यो । बुवाले जमानामा पाँच कक्षासम्म पढ्नु भएछ । मैले स्नातकोत्तर अनि भाइ पनि स्नातकोत्तरमा कुद्दै थियो ।

भाइले राजनीतिमा मनै गरेन । बुवा विदेशमा मतलबै भएन । म आफैँ उत्तानो परेर घस्रने खुम्रेकिरो ! बाँकी सदस्यहरू- मेरी आमा, औंठाछापे भन्दा पनि नबुझ्ने ! मेरी जीवनसाथी, एघार बाह्र पास नगरेपनि दश चाहिँ पास गरेकी नारी ! यसप्रकार पुरुष जतिले भोट दिएनछौं । दुर्इजना नारी सदस्यहरू गाउँमा भएका बखत परेकोले भोट दिएछन् । यो एउटा उदाहरण हो । यसैका आधारमा पनि यो राज्यसत्तालाई 'हाम्रो' भन्दा पनि 'यो' भन्ने शब्दको चयन गर्न मन पराएको हुँ ।

वास्तवमा ''यो राज्यसत्ता'' नै हो । हाम्रो भएको भए त खायो खाएन ? के गर्दैछ ? कस्तो छ ? यस्तै यस्तै जिज्ञासाका साथ खोज्न आउँथ्यो होला तर आजसम्म कहिल्यै आएको थाहा छैन । यसले त हत्या र हिंसाबाट आएकाहरूलाई मात्रै आफ्नो ठान्दोरहेछ । त्यसैले हत्याराका राज्यसत्ता हो यो ! चोर, डाँका, लुटेराका हो । कुनै जमानामा अनेक बहानामा मान्छेका हत्या गरेका हत्याराहरूलाई थुनेर राख्ने जेल नै राज्यसत्ता भएको छ । यस्तै तर्क गर्दा धेरैले गाली गरेका छन् । खुस्केछ भनेका छन् ।  

राज्यसत्ता कहिल्यै हाम्रो थिएन । छैन । हुने पनि छैन । यसको जन्म नै मानव हत्या जस्ता जघन्य अपराधबाट भएको हो । त्यसरी नै हुने कुरो हो । यसले सिमानाको नाममा एउटै समुदायलाई अलगथलग पार्दै आएको छ । राज्यसत्तामा रहेका सबै नेता भनाउँदाहरू हत्यारा नै हुन् । तिनले कुनै न कुनै समयमा कुनै न कुनै मान्छेको हत्या गरेकै छन् । अहिले तिनका अनेक नमूनाहरू देखिनेक्रम जारी छ ।

स्मरणीय तथ्य- राज्यसत्ता भनेको राजनीतिक कुरा हो । राजनीति बारे अध्ययन अध्यापन गराउने नै राजनीतिशास्त्र हो; जसको जन्म नै आदिवासी(मूलवासी)लाई दबाउने र फिरिङ्गेलाई स्थापित गर्ने गराउने हो । नपत्याए राजनीतिशास्त्रको जन्मदाताले किन कुन मोडमा कसरी राजनीतिशास्त्रलाई जन्माएका थिए भन्ने प्रसङ्ग खोजेर पढ्नुस् ।

त्यसो भए ''अबको बाटो'' भन्ने प्रश्न स्वाभाविक हुन्छ । यदि तपाईँ साँच्चैको मान्छे र न्यायप्रेमी अनि मानवीयताले युक्त छ कि छैन भनी जाँच्ने कसी पनि यही जिज्ञासा तपाईँबाट आउँछ कि आउँदैन भन्नेबाट हुनेछ । यो जिज्ञासा तपाईँमा भए वा नभएपनि यत्ति चाहिँ भन्छु- माथि उल्लेख गरिएअनुसारका उदारवाद र मार्क्सवाद भनेको संसदमा रमाउनेहरू नै हुन् । जहाँ तिनीहरूकै भाषामा भन्नुपर्दा- खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थल हो । तिनीहरू अन्ततः पूँजीवादको दलदलमा सहजता महशुश गर्छन् ।

तिनीहरू प्राकृतिक स्रोतको दोहनलाई विकास ठान्छन् । मानवकेन्द्रवादमा उभिन्छन् । त्यसमा पनि नातावाद, फरियावाद, कृपावाद, पार्टीवाद अनि गूटवादमा लिप्त रहन्छन् । देशलाई नै राष्ट्र र राष्ट्रियता हो भनेर गलत पाठ घोकाउँछन् । एउटै समुदायलाई उसको उत्पत्तिस्थल तथा दाजुभाइबाट अलग पार्छन् । लखेटेरै अलगथलग पार्छन् । परिणामतः तिब्बत (चीन) र नेपालका बीच अवस्थित कतिपय गाउँहरू अलगथलग भएका छन् । माइती र ससुराली जान पाइरहेका छैनन् । भारतले कहिले नाकाबन्दी त कहिले प्याजसमेत रोकेर नेपालीत्वलाई कुरीकुरी गरिरहन्छ । बङ्गलादेश, बर्मा र फिजीमा पुगेका नेपालीमूलका मान्छेलाई बोर्डरमै रोकेर स्वाधिन राष्ट्रियताको नारा लगाइरहन्छन् । के आफ्नो पैतृकभूमिमा पाइला टेक्न पाउने अधिकारबाट वञ्चित गर्नु नै तिनका आधुनिक लोकतन्त्र हो त ?  

यो पनि बुझनुस्- नेपालमा कसैले माने वा नमाने पनि ताम्सालिङ भूखण्ड स्पष्ट छ । कथित नेपाल नामक देश निर्माणको क्रममा ताम्सालिङ भूखण्डका तामाङमाथि भएका अमानवीय अत्याचारको क्षतिपूर्ति सम्बन्धी के गर्ने होला ? पृथ्वीनारायण शाहको गुनगान गाएर राष्ट्रियताको धक्कु लगाउनेहरूले किन तिनका पृथ्वीनारायण शाह, ताम्सालिङ भूखण्डका तामाङको नजरमा हत्यारा हो भन्ने बुझ्दैनन् । पृथ्वीनारायण शाहको चार वर्ण छत्तीस जातको साझा फूलबारीलाई हिन्दूबारी बनाएर हुन्छ ? किन पृथ्वीनारायणको गुनगान गाउनुको अर्थ यहाँका तामाङ तथा नेवारका मुटुको घाउमा कोतर्नु हो भन्ने बुझ्न सकिरहेका छैनन् ? पृथ्वीनारायणद्वारा स्थापित सत्ता तिम्रो प्राणभन्दा प्यारो हुँदा र त्यसै भन्दै गर्दा; यहाँका तामाङ र नेवारले पनि तामाङ र नेवार राष्ट्र नै हाम्रो प्राणभन्दा प्यारो भनेछन् भने के होला ?  तामाङ र नेवार राष्ट्र ! प्राणभन्दा प्यारो भन्न पाउने कि नपाउने ? किन ??

त्यसो भए ताम्सालिङबाट अन्यलाई लखेट्ने त ? जस्तालाई त्यस्तै भन्ने हो भने सम्भव हुन्छ । लखेट्नै पर्छ । होइन, मानवतावादको अतिरिक्त प्रकृतिवाद पनि हो । हामी छोट्टा छैनौं । महान् आदिवासी हौं भन्ने हो भने सामयिकसंयोजनवादमा विश्वास गर्नु पर्छ । समयसापेक्ष रूपमा आपसी संयोजनको विकल्प हुँदैन । यही मतमा अडिक रहेर उठाइएका प्रसङ्गलाई नजरअन्दाज गर्ने हो भने भन्न सकिन्न । यी सबै समस्याका समाधान गर्न केवल उदारवाद तथा मार्क्सवादले मात्रै सक्ने छैनन् । यसको एकमात्रै उपाय भनेको पहिचानवाद नै हो । इनडिजिनिजम् नै हो । यही निस्कर्षलार्इ समयमै चिन्न नसक्नु भयानक दुर्घटनालाई निम्तो दिनु हो ।

जाँदा-जाँदै; राज्यसत्ताले जेलमा कुहाउँदा पनि गोमांस नछोडेका तामाङका सन्तानले कदापि हार्ने छैनन् । गोमांसकै एक प्रकरणमा- तामाङले सेमजोड राज्य नै गुमाउनु परेको थियो । राजासहित कैयौं सन्तान गुमाउनु परेको थियो । भूमि गुमाउनु परेको थियो । पृथ्वीनारायण शाह भनिएकाले स्थापना गरेको कालोसत्ताको घोर अत्याचारमा पिसिनु परेको थियो । गाई गोरुका सिनो खाना पनि नौ पैसाका दरले मेगजिन नामक कर तिर्नु परेको थियो । मरेको सिनो खाँदा पनि मारेर खाएको भन्दै जेलमा सडाएका थिए । तैपनि कहिल्यै हार मानेन् । निरन्तर गोमांस प्रयोग गर्दै आएका छन् । यही नै तामाङ राष्ट्रको पहिचान हो; जसले पृथ्वीनारायण शाह भनिएको व्यक्तिले स्थापना गरेको हिन्दू एकात्मक राज्यसत्ताको विरुद्ध निरन्तर आवाज बुलन्दै गर्दै आएको हो । अर्थात् हाम्रो आफ्नै सत्ता छ भनेर देखाउँदै आएको हो ।

अझै पनि- तामाङले माघेसङ्क्रान्तिको सट्टा सीप दिवसको अवसरमा ह्लोछरलाई व्यापकताका साथ मान्न छोड्ने छैनन् । राज्यसत्ताले 'चैतेदशैँ' भन्दा होइन 'सेरकेम' भन्नेछन् । साउनेसङ्क्रान्ति, जनैपूर्णिमा र कुशेऔँशीको उर्दी जारी गर्दै गर्दा, काउण्टर सत्ताको रूपमा 'गोन ङ्ह्य'लाई ज्ञान दिवस भनेर मान्न छोड्ने छैनन् । विजयदशमीमा राज्यसत्ता रमाउँदा ठ्यक्कै काउण्डटर दिँदै म्हेनङ मान्नेछन् । यम पञ्चकको रौनकताले प्रहार गर्दाखेरि आदिवासी भूमिपुत्रहरूले कृषि तथा बलिहाङसँग सम्बन्धित पर्वको रूपमा राज्यसत्ताको वैकल्पिक धार पक्रने छन् । कथित सत्ताले प्रदेशहरूलाई नम्बरको आधारमा स्थापित गरौं भन्दाखेरि पहिचानको प्रसङ्ग उप्काउने छन् । लिम्बु, खम्बु, मदेश, ताम्सालिङ, मगरात, तमुवान, थरुहट र खसान आदि भन्न छोड्ने छैनन् ।

गोमांस प्रकरणमा गुमेको सेमजोङ (ताम्सालिङ)लाई गोमांसलाई पुनः खाद्यसंस्कृतिको रूपमा स्थापित गराएर फिर्ता लिनेछन् । आफूहरूले म्हेनिङ मनाउँदै गरेको बेला खोसिएको तेमाल (ताम्सालिङ) अब तिनीहरूले बडादशैँ मनाउँदै गर्दा म्हेनिङद्वारा फिर्ता गराउने छन् ।  यत्ति मात्रै गर्न सकेमा पनि बिग्रिएको सत्ताले आफ्नो हैसियत चिन्नेछ । यो रहेछ भनेर बुझ्नेछ । असली हैसियतमा सत्ता आउनेछ । 'यो' 'हाम्रो' भनेर विवाद गर्दै गरेको राज्यसत्ता साँच्चै प्रकृतिप्रदत्त सत्तामा परिणत हुनेछ । त्यतिखेरै यो धर्तीमा युटोपियालाई युटोपियाको सट्टा वास्तविकतामा परिणत गर्न सक्नेछौं । जय पहिचानवाद !!!
१० कात्तिक '७६

चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...